काठमाडौं । कांग्रेस लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी) कारागार चलान भएका छन् । अदालतमा पुगेर आत्मसर्मपण गरेका उनलाई कारागार चलान गरिएको हो । रुकुम जिल्ला अदालत पुगेर केसीले आइतबार दिउँसो आत्मसमर्पण गरेका थिए ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरका प्रवक्ता एसएसपी माधव श्रेष्ठका अनुसार सांसद केसी आफै अदालतमा उपस्थित भएका हुने । रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी माधव खरेलले प्रदेश सांसद केसी अदालत उपस्थित भएको र अदालतले तोकिएको सजाय भुक्तान गर्न कारागार पठाएको जानकारी दिए ।
स्रोतका अनुसार प्रहरीले केसीलाई काठमाडौंबाट नियन्त्रणमा लिएको थियो। उनलाई प्रहरीले रूकुम पूर्व ल्याएको थियो। तर प्रहरीले केसी आफै अदालतमा उपस्थित भएको दाबी गरेको छ। ३३ वर्ष पहिले उनलाई साविक रूकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।
श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा साविक रूकुम जिल्ला अदालतमा मुद्दा परेको र त्यसमा उनी दोषी ठहर भई अदालतले एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना गरेको थियो।