Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
केएमसीका कोरोना संक्रमित चिकित्सकहरु दोलखाका बृद्धको उपचारमा संलग्न, अस्पतालको सेवा बन्द

काठमाडौँ — काठमाण्डौं मेडिकल कलेजका कोरोना संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मी दोलखाका संक्रमित बृद्धको उपचारमा संलग्न भएको पाईएको छ । अस्पताल स्रोतका अनुसार बुधबार संक्रमण पुष्टि भएका एक चिकित्सक र दुई नर्स दोलखादेखि आएका संक्रमितको उपचारमा संलग्न थिए ।

अस्पताल स्रोतले एक जना डा. र दुई जना नर्स कोरोना संक्रमित विरामीको उपचारमा संलग्न भएको पुष्टि गर्यो । भिमेश्वर नगरपालिका वडा नम्बर २ तिखातलका दुई ७६ वर्षिय वृद्धको सोही अस्पतालमा राखेर उपचार गरिएको थियो । बृद्धलाई जेठ १५ गतेनै कोरोना संक्रमण पुष्टि भैसकेको छ । उनीहरुमा संक्रमण पुष्टि भएसँगै काठमाडौं मेडिकल कलेज (केएमसी) बन्द गरिएको छ । अस्पतालमा दुई जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि अस्पतालको सेवा बन्द गरिएको हो ।

केएमसीमा बुधबार संक्रमण पुष्टि भएका एक चिकित्सक र दुई नर्स दोलखादेखि आएका संक्रमितको उपचारमा संलग्न थिए । पीपीई लगाएरै संक्रमित जाँचेका एक चिकित्सक र दुई नर्समा संक्रमण सरेपछि संक्रमण फैलिन नदिन यस्तो निर्णय गरिएको अस्पतालले जनाएको छ ।

अस्पताल व्यवस्थापनका अनुसार अहिले अस्पतालभित्र सबैलाई प्रवेश निषेध गरिएको छ । केएमसीकी प्राध्यापक तथा प्रवक्ता डा. चन्दा कार्कीले ट्रेसिङमा फेला परेका अस्पतालका डेढ सय स्वास्थ्यकर्मीको स्वाब संकलन गरेर परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशाला पठाइसकिएको जानकारी दिईन् ।
आज अझै केही स्वास्थ्यकर्मीको स्वाब पठाउने अस्पतालको तयारी छ ।

कार्कीका अनुसार शल्यक्रियाका लागि तयार राखिएका बिरामी लेभल–३ का अस्पतालमा रिफर गरिनेछ भने अन्य बिरामीको स्वाब परीक्षणपछि रिपोर्ट नेगेटिभ आएपछि मात्रै बाहिर जान दिइनेछ । उपचार छाडेर घर जान चाहने बिरामीको विस्तृत ठेगाना टिपेर मात्रै पठाइनेछ ।
रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्यकर्मीलाई मात्रै काममा फर्काइनेछ ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update