Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
रामेछाप डडुवाका पहिरो पीडितको बिचल्ली

दोरोम्बा । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाका पहिरो पीडितहरुको अवस्था दयनीय बनेको छ । पहिरोले विस्थापित बनाएपछि डडुवाका ४३ परिवारको बिचल्ली भएको हो । २ सातादेखि उनीहरु त्रिपालको साहारामा कोही सडकमा त कोही गाउँको डाँडामा बस्न बाध्य छन् ।

अति दुर्गम पिछडिएको गाउँ डडुवाको मुझुवा सल्लेटारका अल्पसंख्यक थामी समुदायका ३२ परिवारसहित मंसिरेका ६, पात्लेका ३ र नागी २ घर पहिरोले विस्थापित बनेका छन् । यी घरका १ सय ९३ जना सुरक्षित स्थान खोजेर त्रिपालको भरमा रात काटिरहेको वडा सदस्य मंगले थामीले बताए । 

७ दिनको सुत्केरी हुँदा पहिरोले बिस्थापित भएकी सिता थामीले त्रिपालमा रात कटाउनु पर्दा बच्चाको स्वास्थ्यमा समस्या आएको पिडा पोखिन् । त्रिपालमुनि चिसोभुईंमा रात बिताउनुपर्ने बाध्यताका कारण उनको नावालक छोरालाई चिसोले रुघाखोकीले च्यापेको छ । गएको भदौ ८ गते शनिबार मध्यरातमा पहिरोले गाउँको घर बस्न नमिल्ने गरेर क्षति गरेपछि उनी २ सातादेखि त्रिपालको साहारामा कष्टकर रात काटिरहेकी छिन् ।

सोही रात दोरम्बा शैलुङ –३ लेखर्कको पहिरोमा परेर ८ जनाको मृत्यु भएको थियो भने अझै २ जना बेपत्त छन् । मान्छे मरेको ठाउँलाई मात्रै राहत र बासको व्यवस्थापन गरेको पीडितहरुको गुनासो छ । अर्की १७ दिनकी सुत्केरी मञ्जु थामी, ७ महिनाकी गर्भवती लक्ष्मी थामी पनि पहिरोले घर बस्न नमल्निे बनाएपछि त्रिपालमै बास छ । 

गाउँपालिकाले डडुवाका ४३ पहिरो पीडितलाई ८ बोरा चामल,२ बोरा चिउरा, १० बाक्सा खाने तेल, १२ थान ब्ल्याङकेट,र एक रोल ओछ्याउन म्याट्रेस दिएको थियो । लेखर्क पहिरो पीडितलाई राहत दिनेको लर्को भएपनि डडुवाका पहिरो पीडितलाई हेर्ने कोही नभएको गुनासो उनीहरुको छ । 

दोरोम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैन कुमार मोक्तानले पालिकाका सबै वडामा पहिराले क्षति गरेकाले विस्थापितहरुलाई व्यवस्थापन गर्दै लगिने बताए । 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update