काठमाडौं । फेसबुकमा बिवादित स्टाटस लेखेको विषयलाई लिएर दोलखाका एक युवक दुई दिनदेखि प्रहरी हिरासतमा छन् । दोलखा शैलुङ गाउँपालिका–७ का कुशल भनिने २९ वर्षिय मानबहादुर कार्कीलाई प्रहरीले हिरासतमा लिएको हो । उनीमाथि सामाजिक सद्भाव भड्किने खालको स्टाटस लेखेको आरोप लगाईएको छ । विहिवार पक्राउ परेका उनलाई साईबर व्यूरोले म्याद थप गरेर अनुसन्धान भैरहेको जनाएको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता एवं एसपी दिपकराज अवस्थीका अनुसार सामाजिक सञ्जाल फेसबुकमा सद्भाव भड्किने खालका विभिन्न स्टाटस लेखेका कारण उनलाई नियन्त्रणमा लिईएको हो । समाजमा गलत प्रवृत्ति आउन सक्ने खालका र गलत बाटोमा प्रेरित गर्ने खालका कुराहरू लेखेको उजुरीपछि आवश्यक अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको एसपी अवस्थीले बताए।
‘कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचारविरूका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्लाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउनेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनेछ,’ उक्त दफामा भनिएको छ।
ती युवकले प्रधानमन्त्रीलगायत शीर्ष नेताहरूलाई लक्षित गरी र बंगलादेशको जस्तो स्थिति हुने भन्दै विभिन्न स्टाटस लेखेको भन्दै उजुरी परेको छ ।