काठमाडौं । काठमाडौंमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले आफ्नो प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम ९ साउन २०८१ मा भएको जहाज दुर्घट्ना भएको थियो ।
"दुर्घटनाको एक सम्भावित कारणमा अपरेटर (सौर्य एयरलाइन्स) ले अपरेसन र ग्राउन्ड ह्यान्डलिङ म्यानुअल अनुसार जहाजमा सामान राख्नुपर्नेमा त्यसको पालना नगरेको कारण दुर्घट्ना भएको हुनसक्ने प्रतिवेदनको प्रारम्भिक निष्कर्ष छ ।”
यस्तो म्यानुअल नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत गराउनुपर्छ । सामान जोख्ने, त्यसलाई लोड गर्ने र जहाजभित्र कसरी सुरक्षित राख्ने भन्ने मापदण्ड हुने त्यस्तो म्यानुअल सौर्यसँग भए पनि त्यसको पालना नभएको देखिएको छ ।
साथै, जहाजले कार्गोसहित लोड बोकेर उड्दा बाहिरको तापक्रम, विमानस्थलको उचाइ, लोडसहित आधारमा टेकअफका बेला लिने गतिको क्याल्कुलेसन गर्ने गरिन्छ । जसलाई ‘भी–स्पीड’ भनिन्छ । यो उडानका बेला यस्तो क्याल्कुलेसन नगरी जहाजले टेकअफ लिएको देखिएको छ ।
यसलाई समेत आयोगले दोस्रो सम्भावित कारण भनेको छ । यस्तो विधि उल्लेख भएको ‘क्विक रिफरेन्स ह्यान्डबुक’ पाइलटसँग हुने गर्छ । जाँच आयोगले प्राधिकरणबाट मर्मतका लागि दिने (फेरी फ्लाइट) अनुमतिमा उल्लेख नियमहरूको पूर्णपालना हुन नसकेको समेत उल्लेख गरेको छ ।
जाँच आयोगको प्रारम्भिक प्रतिवेदनमा वायुसेवा कम्पनीहरूले फेरी फ्लाइटमा गर्ने लापरबाहीतर्फ संकेत गरिएको छ । यसमा नागरिक उड्डयन प्राधिकरणले आँखा चिम्लिरहेको समेत देखिन्छ । अबको जाँच सोहीतर्फ उन्मुख हुने समेत प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
यद्दपि, प्रारम्भिक प्रतिवेदनमा आएका कतिपय विषय पूर्णप्रतिवेदन आइसक्ने समयमा थप सूचनाका आधारमा अर्को निष्कर्षमा पुग्ने सम्भावना समेत हुन्छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियमानुसार ठूला जहाज दुर्घटना जाँच गर्दा प्रारम्भिक निष्कर्ष सार्वजनिक गर्ने गर्नुपर्छ ।
सौर्यको दर्ता नम्बर ‘९एन–एनएमई’ भएको ‘सीआरजे–२००’ सिरिजको जहाज टेकअफ गर्नासाथ त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु थियो । क्याप्टेन मनिषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको थियो ।