Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बहुविवाहदेखि कर्तव्य ज्यान मुद्धा लागेका दोलखाका ८ जना कैदीबन्दी छाड्ने तयारी

चरिकोट । कारागार व्यवस्थापन विभागले दोलखाका ८ जना कैदीबन्दीको कैदकट्टा गर्न सिफारिस गरेको छ । उनीहरुलाई असोज ३ गते संविधान दिवसको अवसर पारेर कैदकट्टा गर्न सिफारिस गरिएको हो । विभागले चार सय ९२ जना कैदीबन्दीको कैदकट्टा गर्न सूची सार्वजनिक गरेकोमा दोलखा ८ जना रहेका छन् ।

दोलखाका चोरी, बहुबिवाह देखि कर्तव्य ज्यान सम्बन्धि मुद्धाका कैदीबन्दीलाई बाँकी कैद माफी मिनाहा गर्न सिफारिस गरिएको छ । जसमा तामाकोसी गाउँपालिका–६, का ३५ वर्षिय समिर तिमिल्सिना, भीमेश्वर नगरपालिका–७, का २६ वर्षिय विज्ञान खत्री, वैतेश्वर गाउँपालिका ४ का कल्याण खड्का र कालिञ्चोक गाउँपालिका ३ का २८ वर्षिय महेश शिवाकोटी रहेका छन् । उनीहरु चोरी र डाँका मुद्धाका अभियुक्त हुन् ।

यसैगरी बहुबिवाह मुद्धाका अभियुक्तहरु मेलुङ गाउँपालिका ३ का ३० वर्षिय सुमन खड्का र भीमेश्वर नगरपालिका वडा नम्बर ६ का दावा तामाङलाई पनि कैद मिनाहा गर्न सिफारिस गरिएको छ । वैदेशिक रोजगार कसुरमा कैद भुक्तान गरिरहेका कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ का ५४ वर्षिय निरबहादुर बुढाथोकी कैद मिहना हुने सिफारिस सूचीमा छन् । 

कर्तव्य ज्यान सम्बन्धि मुद्धाका दोषी ठहर मेलुङ गाउँपालिका १ का ५३ वर्षिय कालुमान बसेललाई पनि बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ । उनले गम्भिर उत्तेजना र रिसको आवेगबाट ज्यान मारेको अदालतले दोषी ठहर गरेको थियो । उनको कैद मिनाहाका लागि पीडित परिवारको समेत सहमति लिईएको बताईएको छ । कैद अवधि भर उनीहरुको चालचलन असल रहेको र ५० प्रतिशत कैद भुक्तान गरिसकेकाले बाँकी कैदकट्टा गर्न सिफारिस गरिएको विभागले जनाएको छ । 

सिफारिस भएका कैदीबन्दीको कैदकट्टा सिफारिसविरूद्ध कुनै उजुरी र गुनासो भएमा सात दिनभित्र तथ्य प्रमाणसहित विभागमा उपस्थित हुन आग्रह गरिएको छ । गणतन्त्र दिवसको दिन छुट्न सिफारिस भएका छ सय २० जना र संविधान दिवसको दिनका लागि चार सय ९२ जना गरी जम्मा एक हजार एक सय १२ जनालाई छाड्ने विभागको तयारी छ। गणतन्त्र दिवस, संविधान दिवस, प्रजातन्त्र दिवस र दसैं-तिहारको बेलामा कैदीबन्दीहरू छाड्ने गरिएको छ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update