२७ माघ, दोलखा । दोलखाका स्थानीय तहले प्रदेश सरकारले बिनियोजन गरेको बजेटको एक तिहाई रकम पनि खर्च गर्न सकेका छैनन् । चालु आर्थिक वर्षको दोस्रो चौमासिक सकिन लाग्दा जिल्लाका ९ वटा स्थानीय तहले २५ प्रतिशत रकम पनि खर्च गर्न नसकेका हुन् ।
बाग्मती प्रदेशले चालु आर्थिक वर्ष जिल्लाका स्थानीय तहलाई समानिकरण र सशर्त अनुदान तर्फ कुल १९ करोड ९६ लाख ३७ हजार रुपैयाँ विनियोजन गरेको थियो ।
जसमध्ये स्थानीय तहले हालसम्म ४ करोड ४५ लाख ५५ हजार रुपैयाँ मात्रै निकासा लगेको कोष तथा लेखा नियन्त्रक कार्यालयका सह लेखापाल नारायण खड्काले जानकारी दिए । जुन कुल बजेटको २५ प्रतिशत पनि नपुग रकम हो । स्थानीय जनप्रतिनिधिले असारे विकासको परिपाटी अन्त्य गर्ने बताउँदै आएकोमा यो वर्षपनि बजेट कार्यान्वयनको प्रगति सन्तोषजनक नदेखिएको हो ।
कोलेनिकाका अनुसार प्रदेशको सशर्त र समानिकरण तर्फ भिमेश्वर नगरपालिकाले २ करोड ३१ लाख ४८ हजार खर्चको खख्तियारी पाएकोमा ४९ लाख ३६ हजार र जिरी नगरपालिकाले १ करोड ६५ लाख ९ हजारको खख्तियारी पाएकोमा ४९ लाख ३६ हजार मात्रै निकासा लगेका छन् ।
यसैगरी गौरीशंकर गाउँपालिकाले २ करोड २६ लाख ५४ हजार मध्ये ४८ लाख ७५ हजार ५ सय, शैलुङ गाउँपालिकाले २ करोड २८ लाख २९ हजारमध्ये ४९ लाख ६७ हजार ५ सय, तामाकोशी गाउँपालिकाले २ करोड १८ लाख ४४ हजारमा ४९ लाख ७६ हजार, कालिञ्चोक गाउँपालिकाले २ करोड ६४ लाख ८७ हजार मध्ये ४९ लाख ८३ हजार ५ सय निकासा लगेका छन् ।
मेलुङ गाउँपालिकाको २ करोड २४ लाख ३३ हजारमा ४९ लाख ८२ हजार ५ सय, विगु गाउँपालिकाले २ करोड १९ लाख ९४ हजारमा ४९ लाख १९ हजार ५ सय र बैत्यश्वर गाउँपालिकाले २ करोड १७ लाख ३९ हजारमा ४९ लाख ७८ हजार ५ सय रुपैँया रकम निकासा लगेको कोलेनिकाले जनाएको छ ।
दोलखाका कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख शिवनाथ पौडेलले स्थानीय तहको बजेट खर्चको प्रगतिमा धेरै सुधार नदेखिएको बताए । स्थानीय तहले निकासा लगेका समानिकरण र सशर्त अनुदानका सबै बजेट पनि खर्च भैसकेको नहुन सक्छ, उनले भने ।