काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्ड मालबाहक गाडीका लागि दुई दिन बन्द हुने भएको छ । उक्त सडक खण्डमा आज र भोली दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । सडक मर्मतलाई निरन्तरता दिन सडक डिभिजन कार्यालय भक्तपुरले मालवाहक गाडी सञ्चालनमा रोक लगाएको हो।
निर्माण व्यवसायीको लापर्वाहीका कारण बर्खाको समयमा सडक जीर्ण भएर काठमाडौँबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीन जोड्ने तातोपानी नाका आवतजावत गर्ने प्रमुख सडक जोखिमपूर्ण अवस्थामा रहेकाले निर्माण विस्तार गर्न दुई दिन मालवाहक गाडी सञ्चालनमा रहेका लगाएको कार्यालयले जनाएको छ।
निर्माण सामग्रीको ढुवानी गर्ने टिपरका साथै चीनको खासा हुँदै नेपाल भित्रिने वस्तुको ढुवानी गर्ने कन्टेनर उक्त सडकमा सञ्चालन हुँदै आएका छन्। सडक निर्माणार्थ दुई दिन पूर्ण रुपमा मालबहाक यातायातका साधान बन्द गर्न कार्यालयले बुधबार सार्वजनिक सूचनामार्फत अनुरोध गरेका हो।
सडक विस्तारको करिब पाँच महिना बितिसक्दा पनि निर्माण कम्पनीले लापर्वाही गरेका कारण मध्यपहाडी क्षेत्रका नागरिकले निकै सास्ती व्यहोर्दै आएका छन् ।
यसैबीच बनेपाको चार दोबाटो–रविओपी हुँदै पाँचखाल र बिपी राजमार्ग–तीनपिप्ले–पाँचखाल पुग्ने वैकल्पिक बाटो रहेकाले साना सवारीसाधनलाई सोही बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।
यसका अतिरिक्त साना सवारीसाधनले नगरकोट–कुन्ताबेंसी–जिरोकिलो सडक पनि प्रयोग गर्न सक्नेछन् भने दोलालघाट–पाँचखाल हुँदै काठमाडौँतर्फ आउने सबै प्रकारका सवारीसाधनले जिरोकिलोबाट कुन्ताबेंसी नगरकोट सडक प्रयोग गर्न सक्नेछन्।