Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
“थामी समुदाय माथि उठ्न दौडिनुपर्ने अवस्था छ”

गाउँपालिकाको दुई वटा वडामा थामी समुदायको मेजर पपुलेसन छ । यो गाउँपालिकामा थामी समुदायको एउटा इतिहाँस पनि छ । ह्युमन डेभलपमेन्ट ईन्डेक्स (एचडिआई) हेर्दाखेरी यो समुदाय अलिकति पछाडी रहेको छ । शिक्षा, स्वास्थ्य, रोजगारीमा पछाडी भएको हुनाले अघिल्लो कार्यकालमा म उपाध्यक्ष हुँदा र अहिलेपनि थामी समुदायको संस्कृति, विकास, शिक्षा र स्वास्थ्यमा पछाडी परेको कुरालाई मनन् गरेर हामीले अहिलेसम्म मिलेर सक्दो गर्ने प्रयास गरिरहेका छौं । 

थप कुरा चाँही के छ भने अरु पैदल हिँड्दा यो समुदाय माथि उठ्न दौडिनुपर्ने अवस्था छ । त्यसकारण एउटा ८ नम्बर वार्डको थामीचागुमा स्वास्थ्यचौकी पुर्नस्थापना गरायौं । माध्यामिक विद्यालयहरु सुरु भएका छन् । एउटा वार्डमा दुई वटा माध्यामिक विद्यालय गाउँपालिका भरिमा तीन वटा वार्डमा मात्रै छ । ती विद्यालयमा नतिजा अलि खस्कँदो भएपनि विद्यार्थीले दोस्रो पटक एसईई दिएका छन् । धेरै जनसंख्या भएको यो दुई वटा वार्डमा खानेपानीमा मात्रै चार करोड बजेट बिनियोजन भएको छ । उक्त काम सपन्न हुन लागेको छ । त्यसले मिनिमम स्ट्यान्डर्ड पुरा हुने स्थिति बनेको छ । 

सात वर्षको अवधिमा हेर्दा शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकासमा उल्लेख्य परिवर्तन भएको छ । यातायातको साधन नपुगेको थामीचागुमा यातायातको पहुँच पुगको छ । अन्य विकासका काममा पनि थामी समुदायको उल्लेख्य सहभागिता छ । आलम्पुको ढुंगाखानीबाट बिस्थापित भएका श्रमिकहरुलाई वडा कार्यालयहरुसँग मिलेर रोजगारी प्रदान गर्ने काम भएको छ । 

स्कुलनै नजाने (ड्रपआउट) को रेट अलि धेरै भएकोमा अहिले अधिकांश बालबालिकाहरु विद्यालय जान थालेका छन् । दुई वटा वडाको तीन माध्यामिक विद्यालयमा थामी समुदायको उल्लेख्य उपस्थिति रहेको छ । अस्पताल पुगेर स्वास्थ्य चेकजाँच गर्ने, सुत्केरी हुने, बिरामी पर्दा अस्पताल जाने, एम्बुलेन्स सेवा प्रयोग गर्ने जस्ता कुरामा पनि उल्लेख्य परिवर्तनहरु देखिएको छ । 

साथै यसअघि एउटाले बोल्दा अरु सबै सुन्ने मात्रै देखिन्थ्यो भने अहिले धेरै कुरामा विचार बहस गर्न थालेका छन् । त्यही अनुसार महिलाहरुको सहभागिता पनि बढ्दै गएको छ । पहिला पहिला श्रम गर्ने ठाउँमा मात्र देखिन्थ्यो भने अहिले हरेक सभा, सम्मेलन, विकास निर्माण, राजनीति सबै कामहरुमा महिलाहरुको पनि उल्लेख्य उपस्थिति रहेको देखिन्छ । त्यसकारण यो समुदायको सामाजिक क्षेत्रमा पनि परिवर्तन आएको छ । शिक्षामा चेतनास्तर अभिबृद्धि भएर गएको छ । सबै क्षेत्रमा निकै राम्रो परिवर्तन भएर गएको अनुभूति भएको छ । 

थामी समुदायको जन्म, विवाह, मृत्यु जस्ता संस्कार, कर्मकाण्डहरुमा प्रयोग हुने पुराना, अलिखित, अभिलेख नभएका कुराहरु लिपिबद्ध हुने काम भएका छन् । गाउँपालिकाका दुई वटा वडा, जिल्लास्तरमा उपलब्ध थामी समुदायका अग्रजहरु र राष्ट्रिय स्तरमा दोलखाबाट बसाईसराई गरेर गएका र सयौं वर्षदेखि छुटेका भनिएका समुदायका मान्छेहरुसँग भेटघाट गरेर आफ्नो, भाषा, संस्कार, संस्कृति, रहनसहन, भेषभुषा कस्तो थियो, जन्म, बिवाह, मृत्यु संस्कार कसरी गर्ने ? दुख पर्दा के गर्ने भन्ने जस्ता कुराहरुको लिखित दस्ताबेज तयार भएको छ । यसलाई परिमार्जन गर्दै प्रकाशित गर्ने काम भएको छ । यसमा थामी समुदायका अग्रजहरु, विद्धान मित्रहरु लागेर तयार पार्नुभएको छ । 

यो ग्रन्थ तयार हुँदै गर्दा यसले धेरै कुरा समेटेको छ । लोप हुँदै गएको संस्कृतिलाई जगेर्ना गर्न सकेको छ भन्ने विस्वास लागेको छ । धेरै जिल्लामा छरिएर रहेका थोरै जनसंख्या भएको समुदायले आफ्नो संस्कृतिलाई बचाएर राख्न पाउने कुरामा गाउँपालिकाले नीति बनाएर, बजेट बिनियोजन गरेर त्यसलाई कार्यान्वयन गर्न पाउँदा गाउँपालिका र व्यक्तिगत तर्फबाट खुसी व्यक्त गर्न चाहन्छु । 
 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update