काठमाडौं । नेपाललाई पदक दिलाउने पलेशा गोबर्धन स्वदेश फर्किएकी छन् । पारा तेक्वान्दो खेलाडी पलेशालाई स्वदेशमा भव्य स्वागत गरियो । पलेशलाई बुधबार त्रिभुवन विमानास्थलमा भव्य स्वगत गरिएको हो । उनले पेरिस पारालिम्पिक–२०२४ को के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिईन् ।
पलेशालाई विमानस्थलामा स्वागत गर्न बाजागाजासहित खेलकुद मन्त्री तेजुलाल चौधरीसहित राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी पुगेका थिए । त्यसपछि उनलाई नगर परिक्रमा गरिइएको थियो । विमानस्थलबाट गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वरचोक नगर परिक्रममा पछि उनलाई राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा एक कार्यक्रमकाबीच बधाइ तथा सम्मान गरियो ।
गत शुक्रबार अबेर राति पेरिसस्थित ग्रान्ड प्यालेसमा रिपेचेजको कास्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन् ।
पारा ओलम्पिक अपांगता भएका खेलाडीहरूले खेल्ने सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता हो। पलेशाले खेल्ने के(४४ विधा ‘एउटा हातको कुहिना भन्दा तलको भाग नहुने’ खेलाडीको विधा हो।
रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन् ।
रिपेचेजअघि पहिलो चरणमा पलेशाले भेनुजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । क्वाटरफाइनलमा भने पलेशा आफूले अधिकांश समय अग्रता लिएको खेलमा अन्तिम समयमा विश्व वरीयतामा शीर्ष स्थानकी ब्राजिलकी सिल्भाना मायारा कार्डोसो फर्नान्डेजसँग ८–१० ले पछि परेकी थिइन् ।
लगातार दोश्रो पारालिम्पिक खेलेकी पलेशाले टोकियो पारालिम्पिकको सोही तौलसमूहको रिपेचेजमामा पनि मरिजालाई नै हराउदै कास्य पदक भिडन्त पक्का गरेकी थिइन् ।
पलेशाले पाएको उपलब्धि नेपाली खेलकुदकै अहिलेसम्मको ठूलो हो । नेपालकको पारा तेक्वान्दोकी स्टार खेलाडी बागबजारकी हुन् । उनको जन्मिँदै बायाँ हातको कुहिनामुनिको भाग थिएन ।
जावलाखेलस्थित डिएभी स्कुलमा अध्ययनरत रहँदा १० वर्षको कलिलो उमेरदेखि तेक्वान्दो खेल्न सुरु गरेकी पलेशा सन् २०१६ मा राष्ट्रिय पारा तेक्वान्दो टिममा आबद्ध भएकी थिइन् ।
ऐतिहासिक कास्य विजेता पलेशाले सरकारबाट ६५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछिन् ।