Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नागरिकको उद्धारसँगै जोखिम रोकथाम र नियन्त्रणमा ध्यान देउ

नेपालमा कोरोना संक्रमणको दर उच्च हुँदै जाँदा विदेशबाट स्वदेश फर्किने क्रम पनि तिब्र बनेको छ । विशेषगरी रोजगारी र अन्य कामको शिलशिलामा भारतमा रहेका नागरिकहरु फर्किने क्रम बढेको हो । दोलखामा झण्डै ४ सय नागरिक पछिल्लो अवधिमा जिल्ला भित्रिएका छन् । जिल्लामा प्रवासमा रहेका ५ हजार बढि नागरिक फर्किने अनुमान छ ।

कोरोना भाईरस (कोभिड १९) को महामारीले पराई भूमिमा जनजिवन थप कष्टप्रद र पिडादायी भएपछि उनीहरुलाई आफ्नो गाउँघर फर्काउनुको विकल्प नभएको निष्कर्षमा सरकार पुगेको हो । पछिल्लो अवधिमा स्थानीय तह आफ्ना नागरिकलाई उद्धार गर्ने काममा जुटिरहेका छन् । जुन धेरै सकारात्मक र स्वागतयोग्य कुरा हो ।

तर संक्रमित मुलुकबाट ठुलो संख्यामा नागरिक फर्किएपछि उनीहरुको उचित व्यवस्थापन र कोरोना जोखिम नियन्त्रणमा भने स्थानीय सरकार गम्भिर हुनु जरुरी छ ।
स्थानीय स्तरमा मापदण्ड अनुसारको क्वारेन्टाईन, स्वास्थ्य सामाग्री र दक्ष जनशक्तिको अभाव छ । फर्किएकाहरुलाई क्वारेन्टाईनले धान्न नसक्ने, आवश्यक स्वास्थ्य परीक्षण समेत गर्न नसक्ने अवस्था रहेको स्वयं स्थानीय जनप्रतिनिधिहरु स्वीकार गर्छन ।

यस्तो पृष्ठभूमिमा अब ठोस पुर्वतयारी, प्रतिकार्य योजना निर्माण र सरोकारवाला निकायहरुबीचको समन्वय थप बढेर गएको छ । संक्रमित मुलुकबाट फर्किएकाहरुलाई हामी केही गर्न सक्दैनौं, होम क्वारेन्टाईनमा गएर बस, भनेर पन्छिने छुट स्थानीय सरकारलाई छैन ।
फर्किएकाहरुमा संक्रमण भए÷नभएको पहिचान गरी आम नागरिकर्लाइ ढुक्क हुने वातावरण सिर्जना गर्नुपर्छ । जोखिम रोकथामका लागि कमसेकम क्वारेन्टाईनको उचित व्यवस्थापन र उनीहरुको विस्वासनीय स्वास्थ्य परीक्षण पुर्बशर्त हो । होम क्वारेन्टाईको नाममा उनीहरुलाई त्यत्तिकै छोड्दा परिस्थिति भयावह नहोला भन्न सकिन्छ । संक्रमण नभएको सुनिश्चितता पछि मात्रै घर पठाउनुपर्नेछ ।

अर्कोतर्फ यदि संक्रमण पुष्टि भएमा उनीहरुको व्यवस्थापन गर्नु र संक्रमण फैलिन नदिनु अर्को चुनौतीपुर्ण काम आईलाग्नसक्छ । सानो कमजोरीका कारण रोग नियन्त्रण भन्दा बाहिर गयो र पुर्व तयार भएन भने सिमित स्रोत साधन भएको नेपालजस्तो मुलुकले ठुलो मुल्य चुकाउनुपर्ने हुनसक्छ ।

त्यसैले केन्द्रदेखि स्थानीय स्तरका सम्पुर्ण स्रोतसाधन परिचालन गर्दै सरोकारवाला निकायबीचको समन्वयलाई प्रभावकारी बनाउन आवश्यक छ । विदेशबाट नागरिकहरु फर्किएपछिको परिस्थितिपनि सामान्य बनाउन र जिल्लालाई कोरोनाबाट सुरक्षित राख्न सबैखाले उच्च सावधानी, बिधि र उपाय अबलम्बन गर्न सम्बन्धित पक्षले गम्भिर ध्यान पुर्याओस् ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update