चरिकोट – शैलुङ गाउँपालिका प्रमुख भरत दुलालले विदेशबाट फर्किने नागरिकहरुलाई गाउँपालिकाको क्वारेन्टाईनले धान्न नसक्ने बताएका छन् । गाउँपालिकाका नागरिक भारतबाट फर्किने क्रम सुरु भएको र तेस्रो मुलुकबाट सबै फर्किने हो भने क्वारेन्टाईनले धान्न नसक्ने उनले बताए । शैलुङ गाउँपालिकामा हाल २० बेड क्षमताको क्वारेन्टाईन मात्रै छ ।
८ वटै वडामा थप क्वारेन्टाईन निर्माणको तयारी भैरहेको गाउँपालिकाले जनाएको छ । यद्यपी फर्किने नागरिकलाई नयां बनाईने क्वारेन्टाईनले पनि धान्न नसक्ने र सुरक्षित पनि राख्नसक्ने अवस्था नरहेको अध्यक्ष दुलालले बताए । त्यस्तो अबस्थामा होम क्वारेन्टाईनमा बस्नुको विकल्प नरहेको उनको भनाई छ ।
दुलालका अनुसार गाउँपालिकासँग डा. सहितको दक्ष स्वास्थ्य जनशक्ति र उपकरणको अभाव छ । ‘स्वास्थ्य उपकरण छैन, प्रदेश र संघीय सरकारलाई अनुरोध गर्दा गाउँपालिका आफैले व्यवस्थापन गर्नुपर्ने जवाफ आएको छ, अध्यक्ष दुलालले भने, उपकरण भएपनि प्रयोग गर्ने दक्ष जनशक्ति छैन ।’
शैलुङ दुरदराजमा रहेको गाउँपालिका भएकाले मापदण्ड अनुुसारको क्वारेन्टाईन र स्वास्थ्य सुविधा दिन नसकिने भएको हुँदा होम वा सेल्फ क्वारेन्टाईनमा बस्न उनले अनुरोध गरे । भारतमा मात्रै शैलुङ गाउँपालिकाका २ हजार बढि नागरिक रहेको अनुमान छ । सरकारले तेस्रो मुलुकमा रहेका स्वदेश फर्किन चाहने नागरिकलाई समेत स्वदेश फर्काउने तयारी गरिरहेको छ ।