-डिल्लीरत्न श्रेष्ठ, मुख्य निर्वाचन अधिकृत दोलखा
चरिकोट । हामी लोकतान्त्रिक व्यवस्थाको नागरिक बनेका छौं । नागरिकहरु सबैभन्दा बलिया र शक्तिका स्रोत भनेका छौं । लोकतन्त्रमा बुथ कब्जाको कुरा कल्पना पनि गर्न सकिँदैन । त्यो कुरा मानेका छौं त हामीले ? अहिलेपनि हामीले नागरिकहरुलाई किन्न सकिन्छ, नागरिकको भोट हाल्ने अधिकारमा हस्तक्षेप गर्न सकिन्छ । बुथ कब्जा गर्न सकिन्छ भन्ने परिकल्पना गरेका छौं र त्यसमा खुल्ला बहस गरिरहेका छौं । यो कुराले हामीलाई चुनौती दिन्छ की दिँदैन ?
पत्रकारले समाजलाई सचेत गराउने हो । यो देशमा लोकतन्त्र स्थापना गर्नको लागि पत्रकारको भूमिका सबैभन्दा अतुलनीय छ । तर त्यसलाई ब्यवहारमा उतार्नको लागि हामी कति जिम्मेवार बन्यौं ? जनताहरु सार्वभौमसत्ता सम्पन्न छन् । यो देशको शक्तिको स्रोत भनेको जनता हुन् भन्ने कुरालाई यो देशको संविधान र हामी सबैले मान्यता दिईसकेपछि त्यसको कार्यान्वयन गर्न सक्यौं की सकेनौं भन्ने कुरा हो ।
सबैभन्दा ठुलो कुरा यो दशको नागरिकको मूल्य र मान्यताको कुरा हो । जनप्रतिनिधिहरु बलियो हुनुका पछाडी जनता छन् । त्यो कुरालाई हामीले कुनै हालतमा कम्प्रोमाईज गर्नु हुँदैन । बुथ लुट्ने कुरा, जनतालाई किन्ने कुरा चिन्तन्मा पनि नआउनुपर्ने कुराहरु हुन् । त्यो कुरा अन्त्य गर्न आ–आफ्नो लेभलबाट सचेत गराउन भूमिका खेल्नुपर्छ ।
राजनीतिक लडाई अब बाँकी छैन । जनताको अभिमतबाट विचलित हुुने वा नमान्ने कुनैपनि व्यक्तिलाई अधिकार छैन । त्यस्तो कुराको कल्पना पनि नगरौं । जनतानै निर्णायक शक्ति हुन् भन्ने कुरा स्थापित गर्ने सन्दर्भमा पत्रकारहरुको धेरै ठुलो भूमिका हुन्छ । नागरिकको सम्मानमा कतैबाट आँच आउने किसिमको कुरा भयो भने हामी एक भएर आवाज उठाउनुपर्छ । नागरिकलाई आफ्नो अभिमत जाहेर गर्ने र त्यसलाई स्वीकार गर्ने वातावरण बनाउनुपर्छ ।
-जिल्ला निर्वाचन कार्यालय दोलखाले आयोजना गरेको निर्वाचनमा संचारमाध्यमको भूमिका विषयक मिडिया अभिमुखीकरण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले राखेको विचारको सम्पादित अंश ।