काठमाडौं । नेपाली कांग्रेसले एक सय दिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीका सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन अभियान सञ्चालन गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। आगामी असोज १ गतेदेखि पुस १० गतेसम्म १०० दिन यो अभियान सञ्चालन हुनेछ।
महामन्त्री गगन थापाका अनुसार सांगठनिक गतिविधि प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन तथा विधानअनुसार मातहत कार्यसमितिले गर्नुपर्ने बैठक, सम्मेलन र अभिमुखीकरण समयै गराउन यो अभियानले सहयोग पनि गर्नेछ।
पार्टी समिति र पार्टीबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिसँगको समन्वय र सहजीकरण संयन्त्रलाई नियमित तथा व्यवस्थित गर्ने लगायतका कार्य पनि यस अभियानका क्रममा हुनेछन्।
कांग्रेस केन्द्रीय कार्यालयले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणका लागि सबै जिल्लामा यसअघि नै फारम पठाइसकेको छ।
उपसभापति पूर्णबहादुर खड्काका अनुसार क्रियाशील सदस्यता वितरण र नवीकरणका काम तीव्र रूपमा हुन सकेको छैन। अहिलेसम्म करिब २० प्रतिशत मात्रै काम भएको उनले गत आइतबारको केन्द्रीय समितिमा बताएका थिए।