धनगढी। गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गरेर समावेशी चरित्रको राज्य निर्माणका लागि संविधान संशोधन गरिने बताएका छन्। लेखकले आधारभूत विषयमा कुनै खालको प्रतिरोध नहुनेगरी सबै राजनीतिक दलको सहमतिका आधारमा संविधान संशोधन गरेर अघि बढ्ने बताएका हुन् ।
मंगलबार प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृह मन्त्री लेखकले अहिलेसम्मको अभ्यासका क्रममा देखिएका सरलता र जटिलताको समीक्षा गरेर मात्र सरकार संविधान संशोधनको बाटोमा अघि बढ्ने उल्लेख गरे ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गरेर समावेशी चरित्रको राज्य निर्माणका लागि संविधान संशोधन गछौँ। संविधानका आधारभूत विषय छन् । त्यसमा कुनै प्रतिरोध नहुनेगरी समावेशीता, थप सुदृढ, बलियो र जनताका लागि कार्यान्वयन हुनेगरी संविधानको संशोधन हुन्छ,’ लेखकले भने, ‘संविधानको अभ्यासका क्रममा देखिएका सरलता र जटिलता समिक्षा गरेर मात्र संविधान संशोधन हुन्छ।’ तर, एक वा दुई पार्टीको चाहानाले नभएर चरणबद्ध छलफल गरेर सबै राजनीतिक दलको सहमतीका आधारमा संशोधन गरीने उनको भनाई थियो।
‘पहिलो चरणमा ९÷१० वर्षसम्म संविधानको जुन अभ्यास गरेका छौं । त्यसको समीक्षा गर्छौं। के–के राम्रा भए ? कहाँ कहाँ जटिलता भए समिक्षा गछौँ । त्यसले विषयवस्तु पहिचान हुन्छ’ उनले भने, ‘विषयवस्तु पहिचान भइसकेपछि ती माथि सबै दलसँग संवाद गछौ। सबै दलसँग संवाद गरेपछि सहमतीका आधारमा संविधान संशोधन हुन्छ।’