काठमाडौँ — भारतीय रक्षामन्त्री राजनाथ सिंहले छिमेकी देशहरुसँगको सिमा समस्या वार्ताका माध्यमबाट हल गरिने बताएका छन् । उनले नेपालको लिपुलेकमा नेपालसँग उत्पन्न भएको सीमा विवाद पनि वार्ताद्वारा नै हल हुने विस्वास व्यक्त गरे । एक भारतीय टेलिभिजन च्यानलसँगको अन्तर्वार्तामा रक्षामन्त्री सिंहले लिपुलेक लगायतका क्षेत्रको सीमा विवाद वार्ताद्वारा नै हल गर्न तयार रहेको बताए ।
‘लिपुलेकको विषयमा नेपालसँग केही समस्या उत्पन्न भएको छ । त्यसलाई दुवै देश वार्तामा बसेर नै हल गर्छौं ।’ अन्तरवार्तामा उनले भनेको छन् । रक्षामन्त्री सिंहले नेपाल र भारतबीच नजिकको पारिवारिक सम्बन्ध रहेको चर्चा गर्दै सीमा विवाद वार्ताद्वारा सहजै हल हुने दावी गरे ।
नेपालले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा पनि सार्वजनिक गरिसकेको छ । नयाँ नक्सामा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको करिब ३३५ वर्ग किलोमिटर जमिन समेटिएको छ । भारतले भने नेपालले जारी गरेको नयाँ नक्सा मान्य नहुने प्रतिक्रिया दिईसकेको छ ।
भारतीय रक्षामन्त्री सिंहले चीनसँगको पछिल्लो तनाव पनि वार्ताबाटै हल गरिने बताएका छन् । वार्ताद्वारा समस्या समाधानका लागि दुवै देश तयार भएको उनले बताए ।