काठमाण्डौं - दैलेखको दुल्लु नगरपालिका स्थित क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले युवकको नतिजा पोजेटिभ आएको पुष्टि गरे ।
तीन दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो । दुल्लु नगरपालिका–११ का ३५ वर्षीय उनको दुल्लु नगरपालिका–७ मा रहेको क्वारेन्टिनमा मृत्यु भएको थियो । शनिबार बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा उनको मृत्यु भएको थियो ।
भारतबाट फर्किएका उनी क्वारेन्टिनमा बसेको १० दिन भएको थियो । यद्यपी स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणकै कारण मृत्यु भएको बारे आधिकारिक पुष्टि गर्न बाँकी छ । यसअघि नेपालमा कोरोना भाइरस संक्रमणले ६ जनाको मृत्यु भैसकेको छ ।