Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
स्टानले आयोजना गरेको साईन्स क्वीजमा हिलेपानी संस्कृत मावि प्रथम

चरिकोट । शैक्षिक गुणस्तर अभिबृद्धिका लागि शिक्षण सिकाईका बिभिन्न बिधिहरु प्रयोगमा छन् । शैक्षिक संस्थाहरुले विद्यार्थीहरुको अतिरिक्त ज्ञान बढाउन बिभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गर्दछन् । दोलखाको कालिञ्चोक गाउँपालिका स्थित विज्ञान शिक्षक समाज नेपाल (स्टान) ले भने शैक्षिक गुणस्तर अभिबृद्धिका लागि भन्दै नयाँ अभ्यास थालनी गरेको छ । शिक्षण सिकाईमा सहयोग पुग्ने भन्दै उक्त संस्थाले विज्ञान विषयलाई लक्षित गरी हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको हो । 

स्टान कालिञ्चोक गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर थामीले विज्ञान विषयमा विद्यार्थीहरुलाई थप अब्बल बनाउन पहिलो पटक विषयगत हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको बताए । ‘नजिकिँदै गरेको एईई र कक्षा ९ को वार्षिक परीक्षा समेतलाई ध्यानमा राखी शैक्षिक गुणस्तर अभिबृद्धिका लागि प्रतियोगिताको आयोजना गरिएको हो,उनले भने ।’

जिल्लाको उत्तरी सिङ्गटी बजार स्थित कालिनाग माविमा आईतवार सम्पन्न अन्तर विद्यालय स्तरीय विज्ञान हाजिरी जवाफ प्रतियोगितामा बिभिन्न १० विद्यालयहरु सहभागी भए । जसमध्ये प्रतियोगितामा हिलेपानी संस्कृत मावि प्रथम स्थान हासिल गर्न सफल भएको छ भने कालिनाग मावि सुनखानी द्वितिय र कालिनाग मावि सिङ्गटी तृतिय भएका छन् । 

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान हाँसिल गर्ने टिमले क्रमशः ७ हजार, ५ हजार, ३ हजार नगद पुरस्कारका साथै प्रमाणपत्र पाएका छन् । बिजयी विद्यालय तथा विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले पुरस्कार र प्रमाणपत्र वितरण गरे । 

कार्यक्रम सम्पन्न गर्न दोलखा घर भइ हाल कोरिया बस्दै आएका अभि थापा, रोहित बस्नेत,, जापान बस्दै आएका टेक थामी र कालिञ्चोक गाउँपालिकामा कार्यरत विज्ञान शिक्षकहरुले सहयोग गरेको स्टान कालिञ्चोकका सचिव बद्री नारायण खत्रीले जानकारी दिए । कार्यक्रममा कालिञ्चोक गाउँपालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकी, विज्ञान शिक्षक समाज (स्टान) दोलखाका अध्यक्ष सुन्दर खड्का, प्रताप स्मृति कलेजका प्रमुख रामबहादुर खड्का लगायतको उपस्थिति थियो । 
 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  २३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update