काठमाण्डौँ - कोरोना भाईरस - कोभिड १९) को संक्रमण नेपालमा थप १ सय ८९ जनामा देखिएको छ । जसमा १ सय ८५ पुरुष र ४ जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक गरिएका परीक्षणका क्रममा उनीहरुमा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १ जना पुगेको छ । मन्त्रालयको नियमित मिडिया ब्रिफिंगका क्रममा प्रवक्ता विकास देवकोटाले संक्रमण फैलिने जिल्लाको संख्या ५३ पुगेको जानकारी गराएका छन् ।
कपिलवस्तु १०९, सर्लाही १७, दैलेखका १४ जना, सिरहा ११, सप्तरीका ९, धनुषा ७, रौतहट ६, दाङ ५, महोत्तरी ४, पर्सा २, संखुवासभा २, झापा १, ललितपुर १, बारामा १ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितमध्ये हालसम्म २१९ जना निको भएर घर फर्किइसकेका छन् । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जनाको मृत्यु भएको छ ।