Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाका घनश्याम रिजाल राष्ट्रिय सभामा निर्वाचित

चरिकोट । बिहिवार सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) दोलखाका नेता घनश्याम रिजाल निर्वाचित भएका छन् । एकिकृत समाजवादीका नेता रिजालले बिहिवार सम्पन्न निर्वाचनमा बागमती प्रदेशबाट  सत्तागठबन्धनको तर्फबाट उम्मेदवारी दिएका थिए ।

उनी ६ हजार ५ सय १२ मतभारसहित विजयी भए भने निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका धु्रबराज विकले ३ हजार ५२ मत प्राप्त गरे । राष्ट्रिय सभा सदस्यमा नेकपा एसले दुईवटा कोटा पाएको थियो । जसमध्ये एउटामा रिजाल निर्वाचित भएका हुन् ।

दोलखाको भीमेश्वर नगरपालिका निवासी रिजाल नेकपा एस निकट दलित मुक्ति संगठनका केन्द्रिय महासचिवको जिम्मेवारीमा पनि छन् । एमालेबाट राजनीतिमा सक्रिय भएका रिजाल पार्टी बिभाजनपछि नेकपा एसमा लागेर जिल्ला उपसचिव बनेका थिए । 

राष्ट्रिय सभामा उम्मेदवारी दिएकी नेकपा एमाले दोलखाकी नेतृ रोचकुमारी चौलागाईँले पराजय भोग्नुपरेको छ ।  बैतेश्वर गाउँपालिकाकी चौलागाईंले २५५२ मतभार प्राप्त गरिन् । उनलाई ६ हजार ६२२ मतभारले पराजित गर्दै राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट महिला कोटातर्फ कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी भएकी हुन् । 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update