काठमाडौँ । काठमाडौंमा संचालित चरिकोट गेष्ट हाउस र टिमुरे क्याफेमा नावालिकाहरुलाई बेस्याबृत्तिमा लगाउने गरिएको पाईएको छ । जडीबुटीमा संचालित उक्त गेष्ट हाउस र क्याफेमा नावालिकाहरुलाई आर्थिक प्रलोभन देखाई यौन क्रियाकलापमा लगाउने गरेको पाईएको हो ।
प्रहरीले अनुसन्धानका क्रममा उक्त तथ्य फेला पारेपछि एक महिलालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ घर भई हाल दोलखाको भीमेश्वर नगरपालिका–९ बस्दै आएकी ३६ वर्षीय आशा लामा भनिने लालमाया तामाङ रहेकी छन् । उनले आर्थिक अवस्था कमजोर भएका ग्रामिण भेगका वालिकाहरुलाई वेटरको काम लगाईदिने तथा आकर्षक तलब सुविधा दिने प्रलोभन दिएर गेष्ट हाउसमा यौन क्रियाकलापमा लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार उनले विगत तीन वर्षदेखि बिभिन्न प्रलोभनमा पारी वालिकाहरुलाई ग्राहकहरुसँग शारीरिक सम्पर्क राख्न लगाउने गरेको र ग्राहकबाट लिएको रकम समेत पीडित वालिकाहरुलाई थोरै मात्र दिने गरेकी थिईन् ।
नावालिकाहरुलाई जवरजस्ती बेश्याबृत्तीमा लगाउने गरेको सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरोको टोलीले दुई जना वालिकाको उद्धार समेत गरेको छ । दुबैजना वालिकालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी तामाङलाई प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।