काठमाडौं । अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । १५ वर्षअघिको हत्या घटनामा उनीहरुलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो । कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न भएको आरोपमा उनीसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका विषयलाई लिएर वीरेन्द्रनगरस्थित जन नमुना माध्यमिक विद्यालयमा अध्ययनरत राजबहादुरको २०६५ फागुन २६ मा हत्या भएको थियो । हत्यालगत्तै मृतकका काका नवराजले किटानी र बुबा नन्दबहादुरले १४ वर्षपछि २०७९ साउन १३ गते पूरक जाहेरी दिएका थिए ।
मृतकका बुवाले प्रहरीमा दिएको जाहेरीमा क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ४५ जना माओवादी कार्यकर्ताले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर सुर्खेत बहुमुखी क्याम्पसमा भर्ना भएको र त्यसको बिरोध गर्दा छोराको हत्या भएको उल्लेख छ ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राजबहादुरको देउती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा सिंहसहित कालीकोटका पदमबहादुर रावत, बालकृष्ण सिंह, टंकबहादुर सिंह, वीरबहादुर मल्ल र अली कार्कीको संलग्नता देखिएको प्रहरीले जनाएको छ