चरिकोट । गैरआवासिय नेपाली संघ (एनआरएनए) आयरल्याण्डका पदाधिकारीले दोलखाको कालिञ्चोक गाउँपालिका स्थित एक विद्यालयका लागि विद्यालय पोशाक सहयोग गरेका छन् । एनआरएनए आयरल्याण्डका उपाध्यक्ष चेतराज ओलीले कालिञ्चोक गाउँपालिका वडा नम्बर ६, स्थित गुजर्पा आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकका लागि व्यक्तिगत रुपमा पोशाक उपलब्ध गराएका हुन् ।
कालिञ्चोक गाउँपालिका–९, सुन्द्रावती घर भई हाल आयरल्याण्ड बस्दै आएका ओलीले १०४ थान विद्यालय पोशाक उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक ठिलेन शेर्पाले जानकारी दिए । विद्यालयमा बुधवार आयोजित एक कार्यक्रमका बीच एनआरएनए उपाध्यक्ष ओलीका तर्फबाट पुर्ब स्रोत व्यक्ति राम चिमोरियाले उक्त पोशाक विद्यालयलाई हस्तान्तरण गरे ।
आयरल्याण्डमा रहेर ओलीले नेपालमा बिभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देबेन्द्र थामीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष भरत पाण्डे, पुर्व स्रोत व्यक्ति राम चिमोरिया लगायतले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउनुपर्ने बताए । उक्त विद्यालयमा अधिकांस अल्पसंख्यक थामी समुदायका बिद्यार्थी अध्ययन गर्दै आएका छन् ।