Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
थामी बस्तीको विद्यालयमा शैक्षिक पूर्वाधारको समस्या, प्रवासमा रहेका युवाहरुबाट डेक्स/बेन्च सहयोग

चरिकोट । दोलखाको दुर्गम मानिने कालिञ्चोक गाउँपालिका–१ म रहेका विद्यालयहरुले शैक्षिक पूर्बाधारको समस्या झेल्दै आएका छन् । थामी समुदाय बाहुल्य उक्त क्षेत्रमा रहेका विद्यालयमा पर्याप्त शैक्षिक पूर्वाधार नहुँदा विद्यालयको दैनिक पठनपाठनमा समस्या हुँदै आएको छ ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर १ स्थित सूर्योद्धय आधारभूत विद्यालयका प्रधानाध्यापक राजन खड्काले समयानुकुल शैक्षिक पूर्वाधार अभावका कारण विद्यालयले पठनपाठनमा समस्या झेल्दै आएको बताए । उनका अनुसार विद्यालयमा घेराबार, कक्षाकोठामा सिलिङको अभाव, फर्निचरको अभाव, ग्रीलको अभाव, शैक्षिक सामग्रीको अभाव छ । 

खेलकुद मैदान निर्माण हुन सकेको छैन भने पहिरो नियन्त्रणका लागि ग्याविन जालीको समेत समस्या रहेको उनले बताए । उक्त विद्यालयमा दुई जना दलितसहित १५० जना थामी समुदायका विद्यार्थीहरु अध्ययनरत छन् । 

यसैबीच  प्रवासी युवाहरुको पहलमा उक्त विद्यालयका लागि फर्निचार सामाग्री सहयोग प्रदान गरिएको छ । दोलखाली समाज दक्षिण कोरिया र प्रवास मञ्च कालिञ्चोकको पहलमा उक्त सहयोग उपलब्ध गराएको हो । उक्त फर्निचर सामाग्री बिहिवार गाउँपालिका अध्यक्ष अर्जुन शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत नवराज ओली, वडा अध्यक्ष पदम बहादुर थामी लगायतले विद्यालयलाई हस्तान्तरण गरे । 

फर्निचरको अभावमा विद्यार्थीहरुको पठनपाठनमा समस्या भैरहेको जानकारी पाएपछि दुई लाख रुपैयाँ बराबरको ३० जोर डेक्स/बेञ्च उपलब्ध गराईएको सहयोगी संस्थाहरुले जानकारी दिएका छन् । संस्थाका पदाधिकारीका अनुसार उक्त सहयोगका लागि प्रवासमा रहेका युवाहरुबाट डेढ लाख भन्दा बढी रकम जुटिसकेको छ भने बाँकी रकम जुटाएर छिट्टै बुझाउने तयारी छ ।  

समाजका अध्यक्ष अभि थापाले शिक्षा क्षेत्रमा पिछडिएको अल्पसंख्यक थामी समुदायका वालवालिका अध्ययनरत विद्यालयलाई प्राथमिकतामा राखेर सहयोग गरिएको र आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए । 
 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update