चरिकोट । नेकपा एमाले दोलखा १० औँ जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । आगामी माघ १९ गतेदेखि २१ गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गर्दै एमाले त्यसको तयारीमा जुटेको हो । नवौं जिल्ला अधिवेशनले निर्वाचित गरेको जिल्ला कार्यसमितिको कार्यकाल विधानतः नसकिएपनि पार्टी केन्द्रको निर्देशन अनुसार दशौं जिल्ला अधिवेशन हुन लागेको हो ।
अधिवेशन आयोजक समितिका संयोजक नरबहादुर श्रेष्ठले १० औँ जिल्ला अधिवेशन आगामी माघ १९ गतेदेखि २१ गतेसम्म तीन दिनसम्म सदरमुकाम चरिकोटमा भव्यतापुर्वक सम्पन्न गर्ने निर्णय गरिएको जानकारी दिए । यही पुस १६ र १७ गते बसेको १० औँ जिल्ला अधिबेशन आयोजक कमिटीको बैठकले गरेको निर्णय सदरमुकाम चरिकोट स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो ।
बैठकले नर बहादुर श्रेष्ठको संयोजकत्वमा ५ सय १ जना अधिवेशन मूल व्यवस्थापन समिति र अन्य उपसमितिहरु गठन गरेको छ ।
हरेक वडालाई एक निर्वाचन क्षेत्र मानेर प्रतिनिधि छनौट गरिने एमालेले जनाएको छ । जसअनुसार १५ जना पार्टी संगठित सदस्य बरावर १ प्रतिनिधिले जिल्ला अधिवेशनमा प्रतिनिधित्व गर्ने जनाईएको छ । जसका लागि ९ देखि १३ गतेसम्म प्रतिनिधि छनौटको कार्यतालिका तय गरिएको छ । अधिवेशनले एमालेको जिल्ला नेतृत्व चयन गर्नेछ ।