Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सिडियो, प्रहरी प्रमुख र ईपीएस निर्देशकको जिम्मेवारी खोसियो, मृतकका परिवारलाई १०/१० लाख राहत

काठमाडौं । सरकारले बालकुमारीमा भएको घट्नाको विषयलाई लिएर ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाएको छ । रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा राज्य पक्षबाट कमजोरी भएको स्वीकार्दै सरकारले यस्तो निर्णय गरेको हो । 

गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह र ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको बताए । ललितपुर प्रहरीबाट फिल्डमा खटिएका डीएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पीएसओ) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय समेत भएको छ । 

पानी जहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षाा दिएर फेल भएका नेपाली युवाले उत्पादनमूलक कामका लागि भएको भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) को कार्यालय ग्वार्को अगाडि धर्ना र प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको थियो । 
यसैबीच ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकको परिवारलाई सरकारले १०÷१० लाख रुपैयाँ राहत दिने भएको छ । 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update