काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषि ठहर्याएको हो ।
न्यायधीशले सजाय निर्धारणका लागि पेश गर्न आदेश गरेका छन् । सन्दीपलाई कतिवर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अदालतले अर्को पेशी तोकेको छ।
१६ देखि १८ वर्षसम्मका बालिकालाई बलात्कार गरेको पाइएमा १० देखि १२ वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था छ।गएको वर्ष भदौ ५ गते गौशालास्थित एक होटलमा लगेर नाबालिग बालिका बलात्कार गरेको भन्दै सरकारी वकिलले मुद्दा दायर गरेको थियो।
आइतबारदेखि यो मुद्दामा निरन्तर बहस भइरहेको थियो। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध गतवर्ष भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।