चरिकोट - दोलखा भिमेश्वर नगरपालिकाका एक बृद्धलाई काठमाण्डौंमै कोरोना संक्रमण भएको आशंका गरिएको छ । जिल्ला रहँदा उनको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि यस्तो आशंका गरिएको हो ।
भिमेश्वर नगरपालिका वडा नम्बर २ का ७६ वर्षिय वृद्धको सम्पर्कमा पुगेका चिकित्सक, स्वास्थ्यकर्मी, सैनिक जवान, कुरुवा, परिवारका सदस्य, आफन्त, अस्पतालमा रहँदा सँगै रहेका बिरामी, अस्पताल पुर्याउने ड्राईभरको स्वाब परीक्षणका लागि धुलिखेल अस्पताल पठाईएको थियो । उनीहरु सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले जानकारी दिए ।
उच्च रक्तचाप, सुगर समेतको समस्याका कारण दोलखा अस्पताल भर्ना गरिएका बृद्धलाई जेठ ११ गतेनै काठमाण्डौं स्थित केएमसी अस्पताल रिफर गरिएको थियो । त्यसको ४ दिनपछि परीक्षणका क्रममा बृद्धलाई कोरोना पोजेटिभ देखिएको हो ।
दोलखाका प्रमुख जिल्ला अधिकार भिमकान्त शर्माले वृद्धको नजिकको सम्पर्कमा पुगेका २५ जनाकै रिपोर्ट नेगेटिभ आउनुले संक्रमण काठमाण्डौंमा भएको हो की भन्ने आशंका गर्ने ठाउँ रहेको बताए । ‘बृद्धको ट्राभल हिस्ट्री केही छैन, सबैभन्दा नजिक सम्पर्कमा रहेकाहरुको रिपोर्टपनि नेगेटिभ आएको छ, केएमसी रहँदा संक्रमण भएको की भन्ने शंका गर्न सकिन्छ, उनले भने । यद्यपी त्यहाँका चिकित्सकहरुको रिपोर्ट आएपछि मात्रै थप कुरा भन्न सकिने प्रजिअ शर्माले बताए ।
केएमसी अस्पतालमा बृद्धको उपचारमा संलग्न चिकित्सक सहितको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी छ । लकडाउनको पालना गरेका र ट्राभल हिस्ट्री समेत नभएका बृद्धलाई जिल्लामै कोरोना संक्रमण हुन नसक्ने धेरैको बुझाई छ ।
उच्च रक्तचाप र सुगरका कारण थलिएका बृद्धको काठमाण्डौं स्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ । उनको स्वास्थ्य अवस्था गम्भिर हुनुमा कोरोना संक्रमण भन्दा पनि अन्य समस्या कारण रहेको चिकित्सकहरुको भनाई छ ।