चरिकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोलखाको महत्वपुर्ण बिकासे परियोजनाहरुलाई पुर्णता दिन आफ्नै कार्यकालमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री प्रचण्डले बहुचर्चित फिल्मसिटी, उत्तर–दक्षिण अन्तरदेशीय राजमार्ग लगायतका योजनाहरुलाई पूर्णता दिन आफ्नो तर्फबाट पुरा सहयोग जुटाउने आसवासन दिए ।
बृहत दोलखा महोत्सवको उद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिवद्धता जनाएका हुन् । ‘दोलखाको फिल्मसिटी निर्माणका लागि आफ्नै अघिल्लो कार्यकालमा योजना स्वीकृत गरी जग्गा भोगाधिकारबारे स्वीकृती हो, त्यसलाई पुर्णता दिन सरकारका तर्फबाट पुरा सहयोग जुटाउने विस्वास दिलाउन चाहन्छु, उनले भने ।’
भीमेश्वर नगरपालिका वडा नम्बर ९ स्थित डाङडुङ्गे डाँडामा निर्माण हुने भनिएको फिल्मसिटीको भविष्यबारे चिन्ता व्यक्त भैरहेका बेला प्रधानमन्त्री स्तरबाट यस्तो प्रतिबद्धता व्यक्त भएको हो ।
दोलखा हुँदै चीन र भारतलाई जोड्ने उत्तर–दक्षिण राजमार्गलाई अघि बढाउन सरकारले विशेष अग्रसरता लिने उनले बताए । दोलखालाई पर्यटकीय गन्तव्यको रुपमा विकास र बिस्तार गर्न दोलखा–काठमाडौं सडकलाई पर्यटनमैत्री बनाउने घोषणा पनि उनले गरे ।