चरिकोट । दोलखाको मेलुङ गाउँपालिकाले प्रभावकारी र गुणस्तरिय प्रश्नपत्र निर्माण गर्न शिक्षकहरुलाई तालिम प्रदान गरेको छ । विद्यार्थीको अध्ययन क्षमताको सही मुल्यांकन गर्ने आधार स्तरीय प्रश्नपत्र भएकोले शिक्षकहरुलाई त्यसबारे तालिम दिईएको गाउँपालिकाले जनाएको छ ।
दुई दिनसम्म चलेको प्रश्नपत्र निर्माण सम्बन्धी कार्यशाला गोष्ठीमा गणित, विज्ञान, अंग्रेजी, नेपाली र सामाजिक विषयको प्रश्नपत्र निर्माणबारे सहभागी शिक्षकहरुलाई प्रशिक्षण दिईएको थियो । तालिममा सहभागीहरुलाई राष्ट्रिय परीक्षा वोडका सदस्य तथा काठमाडौ महानगरपालिकाका स्रोत ब्यक्ति शुसिल खनाल, गणित विषयका विज्ञ त्रिभुवन माविका प्रधानाध्यापक सन्तोष श्रेष्ठ, अंग्रेजीमा शारदा श्रेष्ठ, विज्ञान विषयतर्फ सुन्दर खडका, सामाजिकमा शेर बहादुर थापा र नेपालीमा हरी केसीले प्रशिक्षण दिएका थिए ।
तालिममा विषयगत समितिका सदस्य तथा विद्यालयका विषयगत शिक्षकहरुसहित ५५ जनाको सहभागिता रहेको थियो ।गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले प्रश्न पत्रले गर्ने मूल्याङ्कनले वालवालिकाको भविष्य र उसको सिकाइ लाइ निर्धारण गर्ने हुँदा प्रश्नपत्रलाइ स्तरीय र ग्रीड अनुसार बिशिष्टीकृत र ब्यवहारिक बनाउन तालिमको आयोजना गरिएको बताए ।
कार्यक्रममा आफ्नो धारणा राख्दै पुर्व जिल्ला विकास समितिका उपसभापति शिव प्रसाद भण्डारी, गाउँपालिका उपाध्यक्ष गायत्री आचार्य लगायतले प्रश्नपत्र निर्माण सम्बन्धी तालिमले शैक्षिक गुणस्तर अभिबृद्धिमा सहयोग पुग्ने विस्वास व्यक्त गरे ।