काठमाडौँ । सरकारले रुस–युक्रेन युद्धमा रुसी सेनामा संलग्नमध्ये १०० जना हाराहारी नेपाली सम्पर्कविहिन र घाइते भएको उजुरी आएको जनाएको छ । परराष्ट्रमन्त्री एनपी साउदले करिब २ सय नेपाली रुसी सेनामा संलग्न भएको अनुमान गरिएकोमा एकसय जना सम्पर्कविहिन र घाईते भएको उजुरी आएको जानकारी दिएका हुन् ।
परराष्ट्रमन्त्री साउदले रुसी सेनामा नेपालीलाई सहभागी गराइएकोबारे त्यहाँको सरकारलाई चासो राखिएको भन्दै रुसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रुसी सरकारले दिएको बताए । यसबाहेक सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ ।
उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन्,ु उनले भने, यसका लागि नेपालस्थित रुसका राजदूतलाई मन्त्रालयमा बोलाएर हाम्रा चासोहरू रुसी सरकारसम्म पुर्याउनका लागि स्पष्ट सन्देश दिएका छौँ ।
रुसी सेनामा कति नेपाली संलग्न रहेका छन् भन्ने यकिन विवरण नभएको परराष्ट्रमन्त्री साउदको भनाइ थियो ।