काठमाडौं । ‘डिभोर्स’को विषयलाई लिएर सिन्धुलीमा एक महिलालाई अमानवीय यातना दिने सात जना पक्राउ परेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका–४ का सन्तोष थापाले श्रीमती शारदा थापालाई बिजुलीको पोलमा बाँधेर कुटपिटसहित यातना दिएका थिए । यातना दिएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले महिलाको उद्धार गरी श्रीमानसहित सात जनालाई पक्राउ गरेको हो ।
श्रीमतीलाई यातना दिने सन्तोषसहित सातजना पक्राउ परेको सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले जानकारी दिए । एसपी सिलवालका अनुसार शारदा आफ्ना छोरासँग काठमाडौंमै बस्दै आएकी छन् । श्रीमान् सन्तोषसँग अदालती प्रक्रियाबाट नै ‘डिभोर्स’ गर्न भन्दै सिन्धुली पुगेपछि उनीमाथि कुटपिट भएको हो ।
डिभोर्सकै विषयमा विवाद हुँदा गाउँलेसँगै मिलेर सन्तोषले यातना दिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धानपछि मुद्दा चलाउने तयारी गरेको छ ।