चरिकोट - दोलखा भिमेश्वर नगरपालिकाका कोरोना संक्रमित वृद्धको सम्पर्कमा पुगेका २५ जनाको स्वाबको नमुना संकलन गरिएको छ । भिमेश्वर नगरपालिका वडा नम्बर २ का ७६ वर्षिय वृद्धको सम्पर्कमा पुगेका स्वास्थ्यकर्मी, सैनिक जवान लगायतको स्वाव संकलन गरी पीसीआर परीक्षणका लागि काभ्रे स्थित धुलिखेल अस्पताल पठाईएको हो । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले हालसम्म बृद्धको प्रत्यक्ष सम्पर्कमा पुगेका २५ जनाको स्वाब परीक्षणका लागि पठाईएको र रिपोर्ट आएपछि त्यसको आधारमा अर्को चरणमा कन्ट्याक्ट ट्रेसिङ गरिने बताए । चिकित्सक, स्वास्थ्यकर्मी, सैनिक जवान, कुरुवा, परिवारका सदस्य, आफन्त, अस्पतालमा रहँदा सँगै रहेका बिरामी लगायतको स्वाबको नमुना परीक्षणका लागि पठाईएको हो ।
संक्रमित वृद्धको काठमाण्डौं स्थित शिक्षण अस्पताल महाराजगञ्जमा भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ । उच्च रक्तचाप, सुगर समेतको समस्याका कारण बृद्धको अवस्था गम्भिर रहेको जनाईएको छ । जिल्ला स्वास्थ्य कार्यालयका दोलखाका प्रमुख झाका अनुसार वृद्धको अवस्था कोरोना संक्रमणका कारण गम्भिर भएको भने होईन । अन्य स्वास्थ्य समस्याका कारण वृद्धको अवस्था गम्भिर भएको हो, संयोगबस कोरोना पनि पोजेटिभ देखियो उनले भने ।
वृद्धको उपचारमा संलग्न काठमाण्डौं स्थित केएमसीका चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वाबको पनि पीसीआर परीक्षण गरिँदैछ ।