काठमाडौं । अल्पसंख्यक थामी जातिको मौलिक संस्कृति संरक्षणको भाव बोकेको गीत ‘सेवा ज्यू सेवा’ रिलिज भएको छ । थामी समुदायको मौलिक भाषा, संस्कृति, भेषभुषा, जोेगाउन आव्हान गरिएको गीत शनिवार युट्यूवमा रिलिज भएको हो ।
सुस्मिता थामी र गोपाल थामीको उक्त सांगीतिक प्रस्तुतीमा थामी जातीको मौलिक पर्व भुमे पूजा मनाउन, मातृभाषा, र जातीय भेषभुषाको प्रयोग गर्दै सबैतिर फैल्याउन र समुदायलाई एकजुट हुन आव्हान गरिएको छ ।
गायक रमण थामीले मौलिक भाषिक एवं सांस्कृतिक पहिचान संरक्षणको भाव गीतले बोकेको बताए । ‘समुदायको मौलिक भाषा, संस्कृति, भेषभुषा एकपछि अर्को गर्दै हराउँदै गएको छ, त्यसैले गीतको माध्यमबाट त्यसलाई जोगाउनुपर्ने सन्देश दिन खोजिएको छ, उनले भने ।’
रमण थामीको शब्द संयोजन रहेको गीतमा उनी आफै र सुस्मिता थामीले स्वर दिएका छन् । गीतको भिडियोमा जानकी थामी, शक्ति थामी, अर्जुन थामीले अभिनय गरेका छन् । गीत काठमाडौं स्थित त्रिताल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको हो ।
दोलखा जिल्ला उद्गम थलो रहेको थामी जाति नेपालको अधिकांश जिल्लामा बसोवास गर्दछन् । २०७८ सालको जनगणना अनुसार यो समुदायको जनसंख्या ३२७४३ रहेको छ ।