Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अपर तामाकोशीको १ करोड ७० लाख कित्ता सेयर पुष १३ देखि लिलाम बिक्रीमा 

काठमाडौं । हकप्रदमा नबिकेको माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीको सेयर पुष १३ गतेदेखि लिलाम बिक्री खुल्ला हुने भएको छ । अपरको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सर्वसाधारण समूहको सेयर लिलामी बिक्रीमा राख्न लागिएको हो । 

इच्छुक व्यक्ति तथा संघसंस्था लगानीकर्ताले पुस १३ गतेदेखि २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलको कार्यालयमा आवेदन फारम लिन र फारम भरेपछि सोही कार्यालयमा बुझाउन सकिने छ ।

प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँ मूल्य नघट्नेगरी लिन चाहेको मूल्य तोकेर आवेदन बुझाउनुपर्ने बिक्री प्रवन्धकले जनाएको छ । न्यूनतम १ सय कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । ५ लाख रुपैयाँभन्दा बढी रकमको आवेदन दिनेले भने प्यान नम्बर खुलाउनुपर्नेछ । बिक्री प्रवन्धकका अनुसार मूल्य बढाबढका आधारमा कम्पनीको सेयर बाँडफाँट हुनेछ ।

कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म १ः१ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । सो अवधिमा हकप्रद सेयर बिक्री नभएपछि पुष दोस्रो हप्तादेखि बिक्री नभएको सेयर लिलाम प्रक्रियामा जान लागेको हो । माथिल्लो तामाकोशी जलविद्यूत आयोजना दोलखा जिल्लाको विगु गाउँपालिमामा निर्माण भएको हो । तर जिल्लाबासीमा आयोजनाको हकप्रद सेयरप्रति आकर्षण नदेखिँदा सेयर लिलाम बिक्रीमा गएको हो ।  

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update