Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
माल्टा पठाईदिन्छु भन्दै ठगी, रामेछापका युवक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका निम्ति माल्टा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा रामेछापका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ का २६ वर्षीय पोसाक सुनुवार छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार बेलुका उनलाई काठमाडौंकै म्हैपीबाट नियन्त्रणमा लिएको हो । उनले टेकबहादुर गुरुङलाई वैदेशिक रोजगारीका निम्ति माल्टा पठाइदिने बताएका थिए । त्यसका निम्ति प्रतिव्यक्ति नौ लाख ५० हजार रुपैयाँ लाग्ने भनेका थिए ।

माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक एक लाख रुपैयाँ तलब हुने भन्दै प्रलोभनमा पारी ठगी गरेको खुलेको सो कार्यालयका सूचना अधिकारी एवं एसपी मिलन केसीले जानकारी दिए ।

प्रहरीका अनुसार ‘पीडित’बाट पटक–पटक गरी तीन लाख ३० हजार रुपैयाँ लिई उनी सम्पर्कविहीन भएका थिए ।  सुनुवारलाई थप अनुसन्धान र कारबाहीका निम्ति वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update