चरिकोट । दोलखामा भीआईपीहरु आउने क्रम बढेको छ । एकै साता दुई जना पूर्वप्रधानमन्त्रीहरु दोलखा आईसकेका छन् भने पुषको दोस्रो साता बहालवाला प्रधानमन्त्री आउने कार्यक्रम तय भैसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी पुष १३ गते दोलखा सदरमुकाम चरिकोट आउने कार्यक्रम छ ।
दोलखा उद्योग वाणिज्य संघले आयोजना गरेको बृहत दोलखा महोत्सवमा प्रमुख अतिथिको रुपमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दोलखा आउन लागेका हुन् ।
एमाले अध्यक्ष समेत रहेका पूर्ब प्रधानमन्त्री केपी शर्मा ओली ‘झुलाघाट चिवाभन्ज्याङ’ विशेष अभियान अन्तर्गत समृद्धिका लागि संकल्प यात्रा का क्रममा यहि मङ्सिर २५ गते दोलखा आएका थिए । उनी सदरमुकाम चरिकोटमा आयोजित आमसभामा सहभागि हुनुका साथै जिल्लाका बिभिन्न स्थानमा आयोजित स्वागत कार्यक्रममा सहभागी भए । उनले झण्डै ६ घण्टा दोलखा बिताएका थिए ।
सुरुमा पुष्पलाल लोकमार्ग अन्तर्गत सिन्धुली हुँदै पूर्वतर्फ लाग्ने कार्यक्रम भएपनि जिल्लाका नेताहरुको आग्रहमा ओली नेतृत्वको टोली निर्धारित तालिका संशोधन गरी दोलखा मोडिएको थियो ।
यस्तै पूर्बप्रधानमन्त्री एवं नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाल शनिवार दोलखा आएका छन् । एकिकृत समाजवादीको दशौं जिल्ला अधिवेशनमा सहभागी हुन नेपाल दोलखा सदरमुकाम चरिकोट आएका हुन् । उनी सदरमुकाम चरिकोट स्थित सिमपानी हलमा आयोजित जिल्ला अधिवेशनमा सहभागी भएका छन् ।
जिल्लामा आयोजित कार्यक्रममा पार्टी अध्यक्षहरुलाई प्रमुख अतिथिको रुपमा ल्याउन दलहरुबीच अघोषित प्रतिस्पर्धा जस्तै चलेको छ ।