चरिकोट । राजनीतिक दलहरुले समृद्धि र समाजवादको चर्को नारा लगाईरहँदा नेपालमा संचालित धेरै उद्योग कलकारखानाको अबस्था दयनीय छ । त्यसमा पनि नेपाल सरकारको लगानी रहेको उद्योगधन्दाहरु झनै बेवारिसे छन् । त्यसैको एउटा उदाहरण हो, दोलखाको खरिढुंगा म्याग्नेसाईट उद्योग । काठमाडौंबाट १०९ किलोमिटर दुरीको यात्रा गरेर दोलखा प्रबेश गरेपछि सडक छेउमा यो उद्योगको जिर्ण संरचना देख्न सकिन्छ ।
समृद्धिको मुख्य आधारनै उद्योगधन्दा र कलकारखाहरुको चौतर्फी विकास हो । तर यो उद्योग बन्द भएको झण्डै साँढे दुई दशक बितिसकेको छ । २०५५ सालदेखि उद्योग बन्द छ । खरीढुंगा उत्खनन् पनि बन्द भएपछि उद्योगबाट कुनै व्यवसायिक उत्पादन भएको छैन । उक्त उद्योग दक्षिण एसियामा ठूलामध्येमा पर्छ । मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान र्पुयाउने सम्भावना बोकेको उद्योगबाट कुनै समय २ हजारभन्दा बढीलाई रोजगारीको अवसर सिर्जना भएको थियो । ओरियन्ड म्याग्नेसाइटको विश्व बजारमा उच्च माग छ ।
यो अबधिमा दर्जनौं सरकारहरु परिबर्तन भए । रुग्ण उद्योग पुनःसंचालन गर्ने प्रतिबद्धता पनि जनाए । प्रत्येक निर्वाचनहरुमा म्याग्नेसाईट उद्योग पुनः संचालन गर्ने राजनीतिक दलहरुको एजेण्डा बन्ने गर्छ । त्यही एजेण्डा अनुमोदन गर्दै स्थानीय जनताले धेरैलाई माननीय बनाएर पठाए । तर भग्नावशेषमा परिणत भएको रुग्ण उद्योगले पुर्नजीवन पाउने छाँटकाँट देखिएको छैन ।
उद्योगको संरचनाहरु भत्किएका छन् । करोडौं मूल्य पर्ने फलामे मेसिन–उपकरणहरु खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् । उद्योग सञ्चालनमा नआएपछि अरबौं मूल्य बराबरको म्याग्नेसाइट र खरिढुंगा उपयोगविहीन छन् । उद्योग बन्द भएसँगै हजारौंले रोजगारीको अवसर गुमाए । उद्योगको करोडांै मूल्य बराबरको संरचना र सामान कवाडीमा परिणत भएका छन् । सरकारी बेवास्ताकै कारण उद्योग सञ्चालनमा आउन नसकेपछि थुप्रै बहुमूल्य मेसिनका पार्टपुर्जा चोरी भइसकेका छन् ।
उद्योगको भग्नावशेष दृष्यले राजनीतिक दलहरुले लगाउने समृद्धि र समाजवादको नारालाई गिज्याईरहेको छ । अरबौंको उद्योगहरु अलपत्र अवस्थामा राखेर समृद्धि कसरी आउँछ ? स्थानीय प्रश्न गर्छन् ।
यस बीचमा दर्जनौं सरकार फेरिए । तर कुनै पनि सरकारको पालामा उद्योग सञ्चालनमा ल्याउन विशेष पहल भएको देखिँदैन । उद्योगको नाममा अध्यक्षसहित एक दर्जन बढी कर्मचारीहरु काठमाडौंमा तलब बुझ्ने गर्दछन् ।
एमाले अध्यक्ष एवं पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर २५ गते दोलखा भ्रमण गर्ने क्रममा सो उद्योगको एकैछिन अवलोकन गरे । एमाले जिल्ला संयोजक नरबहादुर श्रेष्ठले उद्योग पुनः संचालनका लागि पार्टीका तर्फबाट निरन्तर दबाब र ध्यानाकर्षण गराईरहेको बताए ।
उद्योगमा नेपाल सरकारको ७५ प्रतिशत लगानी छ । यस्तै खेतान समूहको १२.५ प्रतिशत र भारतीय कम्पनी उडिसा इन्डस्ट्रिजको १२.५ प्रतिशत लगानी रहेको छ । भारतीय कम्पनीको गलत नियतका कारण उद्योग सुरुमै अप्ठ्यारोमा परेको थियो ।
यो उद्योग कुल ५ हजार ३ सय ५४ रोपनी भूभागमा फैलिएको छ । जसमा दोलखाको लाकुरीडाँडाका स्थानीयसँग २ हजार ५ सय रोपनी, सरकारको २ हजार ५ सय रोपनी र सिन्धुपाल्चोकको लामोसाँघुमा ३ सय ५४ रोपनी गरी कुल ५ हजार ३ सय ५४ रोपनी छ । उद्योग क्षेत्रमा २ सय ५० वर्षसम्म पुग्ने म्याग्नेसाइट र खरी रहेको अनुमान छ ।
नेपाल ओरियन्ड म्याग्नेसाइट बोर्डका पूर्वअध्यक्ष वसन्तराज कार्कीले सरकारको प्राथमिकतामा नपरेकै कारण उद्योग पुनः संचालनमा आउन नसकेको बताए । उद्योग संचालन गर्न नसके अधिग्रहण गरिएको सर्बसाधारणको जग्गा फिर्ता गर्नुपर्ने उनी बताउँछन् ।
भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले नगरपालिकाको पहलपछि अष्ट्रेलियन कम्पनीले उद्योग पुनः संचालनका लागि हालै बिस्तृत अध्ययन सम्पन्न गरेको बताए ।
उद्योगबाट मुख्यतः म्याग्नेसाइट (विशेष प्रकारको ढुंगा) उत्पादन हुन्छ । म्याग्नेसाइट कच्चा पदार्थ हो जसलाई प्रशोधन गरेर क्याल्साइन नामक ब्रिक (इँटा) बनाइन्छ । म्याग्नेसाइटसँग टाँसिएर रहेको पदार्थबाट बाईप्रडक्टका रूपमा चिल्लो पदार्थ खरी उत्पादन हुन्छ । सो क्षेत्रमा विभिन्न ४ प्रकारको म्याग्नेसाइट रहेको अध्ययनहरुले देखाएका छन् ।
म्याग्नेसाइटबाट बनेको इँटा २ हजार डिग्रीभन्दा बढी तापक्रममा पनि नपग्लिने हुँदा ठुला आणविक भट्टीमा यसको इँटा प्रयोग हुन्छ । नेपालको सिमेन्ट, स्टिल, फलाम, जस्तापाता लगायत उद्योगमा म्याग्नेसाइटबाट बनेको क्याल्साइन प्रयोग गरी भट्टी बनाइन्छ । सौन्दर्य प्रशाधन, कपडा, साबुन, कागज उद्योगले आफ्नो उत्पादनमा साइनिङ ल्याउन म्याग्नेसाइटको बाइप्रडक्ट खरी प्रयोग गर्ने गर्दछन् ।