काठमाडौं । अपर तामाकोशी हाईडो पावर कम्पनी लिमिटेडले अविपरित हकप्रद सेयर लिलाम बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फ बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता सेयर लिलाम गर्ने छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण भएको दोलखा जिल्लाबासीमा उत्साह नदेखिँदा धेरै हकप्रद सेयर बिक्री भएको थिएन ।
कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म १ः१ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । सह बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार संस्थापक समुहको लागि ५ करोड ४० लाख ९ हजार कित्ता सेयर निष्कासन गरिएकोमा संस्थापक समूहबाट भने पूर्ण सेयरको लागि आवेदन परेको थियो ।
सर्वसाधारणलाई ५ करोड १८ लाख ९१ हजार निष्कासन भएकोमा योग्य रहेका आवेदकलाई ३ करोड ४८ लाख ७१ हजार ४ सय ७० कित्ता सेयर बाँडफाँट गरिएको छ । संस्थापक समूहतर्फ भने पुरै सेयर हकप्रदमा बिक्री भएकोले लिलामीमा आउने छैन ।
हकप्रदमा नबिकेको सेयरलाई लिलामीमार्फत बिक्री गर्न अपर तामाकोशी सिलबन्दी बोलपत्र आह्वानको तयारीमा छ ।
अपर तामाकोसी हाइड्रो पावर लिमिटेडले निष्कासन गरेको हकप्रद सेयर बाँडफाँट भैसकेको छ । कम्पनीका अनुसार संस्थापक सेयरधनीबाट हकप्रद वापत प्राप्त सम्पूर्ण रकमबाट कम्पनीले केहि अंश ऋण तिरिएको छ ।
हकप्रद सेयर निष्कासनबाट प्राप्त हुने रकम माथिल्लो तामाकोशी निर्माण गर्दा लिइएको अल्पकालीन ऋणको साँवाव्याज चुक्ता गर्न र २१ मेगावाटको रोल्वालिङ खोला र ९९ मेगावाटको तामाकोसी–५ जलविद्युत् आयोजनाको निर्माणमा खर्च गरिने जनाईएको छ ।
सेयर लिलामी के हो ?
सेयरबजारमा सुचिकृत कम्पनीले तोकिएको समयभित्रमा हकप्रद बिक्रि नभएमा उक्त सेयरलाई बोलकबोलमार्फत बिक्रि गर्छन। लिलामको सेयरमा मापदण्ड पुरा गरेका जो कोहि सर्वसाधारणले आबेदन दिन पाउँछन। निश्चित अवधिका लागि लिलाम खुला गरिन्छ।
जसले धेरै मुल्य कबोल गर्छ उसले नै लिलामको सेयर सकार्न पाउँछ। सामान्यतया सेयरको दोस्रो बजार भन्दा सस्तोमा लिलामको सेयर किन्न पाइने भएकाले सर्वसाधारणको आकर्षण रहने गर्छ। लिलाममा सेयर नपर्नेलाई उनीहरुको रकम फिर्ता हुन्छ।
कसरी खरिद गर्ने ?
लिलामीको सेयर खरिद गर्ने आवेदन फारम कम्पनीले नियुक्ति गरेको विक्री प्रबन्धकको कार्यालयबाट प्राप्त गर्न सकिन्छ । फारम प्राप्त गरिसकेपछि फारम भरेर कम्पनीले उल्लेख गरेका सम्पूर्ण कागजातहरु संलग्न गरी बुझाउनुपर्छ । साथमा खरिद गर्न चाहेको सेयरको कुल रकम बापत निवेदकले उल्लेखित बैंकको खातामा रकम जम्मा गरिदिनु पर्ने हुन्छ अथवा फारमसँगै गुड फर पेमेन्ट चेक बुझाउनुपर्ने हुन्छ ।