काठमाडौं । वैदेशिक रोजगारीको क्रममा करिब १३ हजार नेपालीले ज्यान गुमाएको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार १२ हजार ७ सय ३० जना कामदारको वैदेशिक रोजगारको क्रममा मृत्यु भैरहेको छ । बोर्डका अनुसार उक्त तथ्यांक आर्थिक वर्ष २०६५ को कात्तिकदेखि चालु आव २०८०/८१ को मंसिर २६ गतेसम्मको हो ।
वैदेशिक रोजगारीमा गएका युवाको दैनिक औसत तीन जनाको शव आउने गरेको बोर्डले जनाएको छ । ती मृतक कामदारका परिवारलाई बोर्डको कल्याणकारी कोषबाट ४ अर्ब ९३ करोड ६६ लाख ६९ हजार रूपैयाँ प्रदान गरिएको छ। सो अवधिमा २ हजार ८ सय ६९ जना बिरामी र अंगभंग भई नेपाल फर्किएका छन्।
लामो समयदेखि विदेशमा मृत्यु र अंगभंग भएका नेपालीको संख्यामा बढ्दै गएको छ। बिदेसिएका कामदारको मृत्यु भए बोर्डले ७ लाख रूपैयाँ दिने गरेको छ। सरकारले मृतक वा अंगभंग हुनेहरूको सहायताका लागि कल्याणकारी कोष स्थापना गरेको छ। वैदेशिक रोजगारमा जाने कामदारको मृत्यु, छात्रवृत्ति, अंगभंग बिरामीको अवस्था हेरेर बोर्डले कल्याणकारी कोषबाट आर्थिक सहायता प्रदान गर्ने गरेको छ। यसबीच वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषले हालसम्म ५ अर्ब ५१ करोड २९ लाख ६० हजार ३ सय १७ रूपैयाँ सहायता शीर्षकमा खर्च गरेको छ।
हालसम्म बिरामी तथा अंगभंग भएका कामदारलाई ६५ करोड १३ लाख ६५ हजार ३ सय १७ रूपैयाँ बोर्डले कल्याणकारी कोषबाट खर्च गरेको छ।