चरिकोट । दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा आज दिउँसोदेखि हिउँ पर्न सुरु भएको छ । कालिञ्चोकको कुरी क्षेत्र तथा उच्च भू–भागमा सामान्य वर्षासहित हिमपात सुरु भएको हो । कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमा यो वर्षकै पहिलो पटक आज दिउँसो १ बजेदेखि हिमपात सुरु भएको स्थानीय होटल व्यवसायीहरुले जानकारी दिएका छन् ।
उनीहरुले हिउँ पर्दै गरेको भिडियो, फोटो सामाजिक संजालमा पोष्ट गर्दै हिउँ खेल्न पर्यटकहरुलाई निम्तो दिएका छन् ।हिउँ खेल्नका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात शुरु भएसँगै व्यवसायी उत्साहित छन् । हिउँपर्ने मुख्य यामअनुसार आजदेखि सुरु भएको हिमपात केही दिनसम्म रहन सक्ने अनुमान गरिएको छ ।
कालिञ्चोकमा काठमाडौं तराई तथा भारतका नागरिकसमेत हिउँ खेल्न कालिञ्चोक आउने गरेका छन् । गत वर्ष ढिलो हिमपात भएपनि यो वर्ष मंसिर मसान्तबाट हिउँ पर्न सुरु भएको हो ।
एकैदिनमा कालिञ्चोक क्षेत्रमा सहज तरिकाले पुगी हिउँ खेल्न तथा कालिञ्चोक मन्दिरको दर्शन गर्न सकिने भएका कारण यस क्षेत्रमा पर्यटकको बाक्लो चहलपहल हुन्छ । ३८४२ मिटरको उचाइमा रहेको कालिञ्चोकमा मन्दिर दर्शन, हिउँ खेल्न तथा हिउँमा खेलिने सहासिक खेल स्की खेल्नका लागि पर्यटक पुग्ने गरेका छन् ।