चरिकोट । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ मा रहेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले दोलखामा झण्डै सात घण्टा बिताएको छ । बिहान ११ बजे नै दोलखा प्रबेश गर्ने पूर्व निर्धारित कार्यक्रम रहेपनि उक्त टोली ढिलोगरी सिन्धुपाल्चोकको सिमा पार गरी दोलखा भित्रियो ।
टोलीलाई सिन्धुपाल्चोक र दोलखाको सिमानामा निर्माण गरिएको प्रबेशद्धारमा जिल्लाका शिर्ष नेताहरु पोलिट व्युरो सदस्य आनन्द प्रसाद पोखरेल, पार्वत गुरुङ, ईश्वरी रिजाल, केन्द्रीय सदस्यहरु सरस्वती बस्नेत, रचना खड्का लगायतले स्वागत गरे ।
त्यहाँबाट केही अघि बढेपछि अध्यक्ष ओलीले नजिकबाट खरिढुंगा म्याग्नेसाईट र फिल्मसिटी निर्माण गर्ने भनिएको डाङडुङ्गे डाँडाको अवलोकन गरे ।
त्यसपछि खरिढुंगा स्थित खेलमैदान नजिकै भीमेश्वर नगरपालिका वडा नम्बर ९ को ज्ञापन–पत्र बुझे र क्याटरिङमा खानाका लागि केही समय बिताए । त्यहाँबाट ठाउँठाउँमा स्वागतमा भेटघाट गर्दै ६ बजेपछि मात्रै चरिकोट आईपुगे ।
ओलीलाई स्वागत गर्न बाटोमा गेटहरु निर्माण गरिनुका साथै बिभिन्न साँस्कृतिक झाँकीहरु निकालिएका थिए । वालवालिकादेखि बृद्धबृद्धाहरु स्वागतका लागि सडकमा निस्किएका थिए । अध्यक्ष ओली आउने भएपछि सदरमुकाम चरिकोटमा विहान ११ बजेदेखिनै उनको प्रतिक्षामा सर्बसाधरण नागरिक भेला भएका थिए ।
सदरमुकाम चरिकोटमा साँझ अबेर मात्रै औपचारिक कार्यक्रम सुरु भयो । एमाले दशौं जिल्ला अधिवेशन आयोजक कमिटीका अध्यक्ष नरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दोलखा २ नम्बर क्षेत्रका सांसद भरत केसीले पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई जिल्लाको तर्फबाट १० बुँदे ध्यानाकर्षण गराए ।
ध्यानाकर्षण पत्रमा दोलखा जिल्लालाई मध्यपहाडी राजमार्गमा जोड्नुपर्ने, चीनसँग जोडिएको लामाबगर–फलाक नाका खोल्नुपर्ने, एअरपोर्ट निर्माण गर्नुपर्ने, फिल्मसिटी बन्नुपर्ने, खरिढुंगा म्याग्नेसाईट पुन संचालनमा ल्याउनुपर्ने लगायतका माग समेटिएका छन् ।
त्यसपछि कार्यक्रमलाई सम्बोधन गरेका ओलीले उक्त मागहरु पुरा गराउन एमाले प्रतिबद्ध रहेको बताए । आफ्नो मन्तव्यको क्रममा ओलीले दोलखाको धार्मिक तथा पर्यटकीय सुन्दरताको चर्चा गरेका थिए । चरिकोटको कार्यक्रम सम्पन्न भएपछि सो टोली रामेछाप सदरमुकाम मन्थली गएको छ । अध्यक्ष ओली नेतृत्वको टोलीमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, विष्णु पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, अष्ठलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल लगायतका नेता सहभागी छन् ।