दोलखा । नेकपा एमालेले सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ भोली (सोमवार) दोलखा आईपुग्दै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’सोमवार दोलखा आईपुग्ने छ ।
अध्यक्ष ओली सहितका शिर्षस्थ नेताहरु दोलखा आउने भएपछि एमाले दोलखाले भव्य स्वागत सहित जिल्लाको विकासले एजेण्डा उठाउने तयारी गरेको छ । जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले यो यात्रा मार्फत जिल्लाको पूर्वाधार विकास, कृषि, पर्यटन, जलविद्युत लगायत आर्थिक÷सामाजिक र साँस्कृतिक एजेण्डा उठाईने जानकारी दिए ।
उनका अनुसार चीनसँग जोडिएको लामाबगर–फलाक नाका, उत्तरदक्षिण लोकमार्ग, फिल्मसिटी, ओरियन्ट म्याग्नेसाईट, विमानस्थल, तामाकोशी तेस्रो लगायतका योजनाबारे उच्च प्राथमिकताका साथ ध्यानाकर्षण गराईने छ । 'यात्राको नामै समृद्धिका लागि संकल्प यात्रा भएकोले दोलखा जिल्लाको समृद्धिसँग जोडिएका महत्वपूर्ण एजेण्डा उठाउँछौं, संयोजक श्रेष्ठले भने । सदरमुकाम चरिकोट स्थित सातदोवाटोमा आयोजित जनसभाको अबसरमा उक्त विषयहरु जिल्लाको तर्फबाट अध्यक्ष ओलीलाई ध्यानाकर्षणसहित हस्तान्तरण गर्ने एमाले दोलखाले जनाएको छ ।
एमाले अध्यक्ष ओली सहितको टोली सोमवार विहान धुलिखेलबाट सिन्धुपल्चोक हुँदै दोलखा आईपुग्ने कार्यक्रम छ । जिल्लाको खरिढुंगामा खाना खाएपछि भीमेश्वर नगरपालिकाको बिभिन्न स्थानमा भेटघाट गर्दै चरिकोट आईपुग्ने छ । प्रचारप्रसार समितिका संयोजक चिरञ्जीबि मास्केका अनुसार टोलीको स्वागतका लागि १४ वटा अस्थायी स्वागत गेट निर्माण गरिएको छ ।
सदरमुकाम चरिकोट बजारमा सांस्कृतिक झाँकी सहित ओलीसहितको यात्रा टोलीलाई भव्य स्वागतको तयारी गरिएको एमाले नेताहरुले जानकारी दिएका छन् । चरिकोट बजारको बिभिन्न स्थानबाट निस्किने र्याली सातदोबबाटोमा जनसभामा परिणत हुनेछ । सभालाई नेताहरुले सम्बोधन गरेपछि नेताहरु मेलुङ गाउँपालिकाको सितलीमा किसानसँगको भेटघाटमा सहभागि हुनेछन् । त्यसपछि रामेछापको मन्थली प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।