काठमाडौँ । युक्रेनी सेनाले रुसी सेनामा भर्ती भएका थप एक जना नेपालीलाई नियन्त्रणमा लिएको छ । काभ्रेका २२ वर्षीय सिद्धार्थ ढकाललाई नियन्त्रण लिएको भिडियो सार्वजनिक भएको हो । यसअघि गत असोज २७ गते बर्दियाका २३ वर्षीय विवेक खत्री युक्रेनी सेनाको नियन्त्रणमा रहेको भिडियो सार्वजनिक भएको थियो ।
उनी अझै मुक्त भएका छैनन् । ८ जना नेपालीले भने युद्धस्थल छोडेर भागेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ । रुसी सेनामा भर्ती भई युक्रेनसँग लड्न गएका ढकाललाई मंसिर १७ गते ‘रेड जोन’बाट नियन्त्रणमा लिइएको हो । उनका दाई नवराज ढकालका अनुसार युक्रेनको कब्जामा भएदेखि सिद्धार्थसँग सम्पर्क हुन सकेको छैन ।
‘सिद्धार्थलाई आइतबार स्थानीय समयको बिहान ११ बजे युक्रेनको सेनाले लिएर गएको भिडियो पठाइदिएको हो,ु नवराजले भने । युद्धस्थलमा घाइते भई उपचाररत एक नेपालीले भिडियो पठाइदिएका थिए । सिद्धार्थ तालिम लिई युद्ध लड्न रेड जोनमा पहिलोपटक गएको बताईएको छ ।
भिडियोमा सिद्धार्थले आफू सकुशल भएको र पछि के हुने थाहा नभएको बताएका छन् । नवराजका अनुसार सिद्धार्थ ५१ दिन अगाडि बायोटेक्निकल एकेडेमीमा अध्ययन गर्न गएका हुन् । उनले सिद्धार्थको कलेज शुल्क दलालले नतिरिदिएपछि रुसी सेनामा भर्ती भएको बताए ।
यसैगरी रुसको रक्षा मन्त्रालयका अनुसार अन्य ८ जना नेपाली युद्धस्थल छाडेर भागेका छन् । चेतेन्द्र खड्का, युवराज अधिकारी, लालबहादुर विश्वकर्मा, तिलकबहादुर विश्वकर्मा, दीपक खड्का, लक्ष्मण भट्टराई, जगदीश पहाडी, सुशान्तकुमार राहपाल फरार भएको बताईएको छ । यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।
उनीहरू तालिम लिई रुसको रोस्तोभ क्षेत्रमा थिए । ती सबैले आधुनिक हतियार चलाएको रुसको दाबी छ । उनीहरु गत १४ अक्टोबरमा रुस पुगेका थिए भने १७ नोभेम्बरबाट सम्र्पकविहीन छन् । नेपाली दूतावासले उनीहरू सम्पर्कमा नआएको जनाएको छ ।