Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मेलुङ गाउँपालिकामा स्वास्थ्य स्वयंसेविकाहरुको सम्मान र बिदाई

चरिकोट । दोलखाको मेलुङ गाउँपालिकाले स्वास्थ्य स्वयंसेविकाहरुको सम्मान र बिदाई गरेको छ । २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आयोजित कार्यक्रमका बीच गाउँपालिकाले ६० वर्ष उमेर पुगेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानसहित बिदाई गरेको हो ।

कार्यक्रममा ६० वर्ष उमेर पुगेकालाई नगद बिस हजार रुपैयाँ, दोसल्ला र प्रसंशा–पत्रसहित ३५ जना स्वयंसेविकाहरुलाई सम्मान गरेर बिदाई गरिएको थियो । सोही अबसरमा प्रदेश कार्यक्रमबाट कार्यरत स्वयंसेविकाहरुलाई जनही पाँच हजार रुपैयाँ तथा सम्मान पत्र प्रदान गरियो ।

कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष हिरा थोकरले स्वास्थ्य क्षेत्रको सुधारका लागि स्वयंसेविकाहरुले खेलेको भूमिका विशेष गरेको उल्लेख गरे । मेलुङ गाउँपालिकामा हाल १५६ जना स्वास्थ्य स्वयंसेविकाहरु कार्यरत छन् । 

यसैबीच मेलुङ गाउँपालिकाले लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सरोकारवालहरुलाइ अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अभियानको अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।

समाजमा रहेका विद्यमान लैङ्गीक हिंसा न्यूनिकरण गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, महिला स्वास्थ्य स्वयंसेविका वडा अध्यक्ष तथा वडाका जनप्रतिनिधिी तथा नेपाल प्रहरी तथा सरोकारवालाहरु सहभागि थिए ।

गाउँपालिका उपाध्यक्ष गायत्री आचार्यले लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियानले लैङ्गिक हिंसा अन्त्य गर्न सहयोग पुग्ने विस्वास व्यक्त गर्दै सरोकारवालाहरुको भूमिका सशक्त हुनुपर्ने र विद्यमान कानुन कडाईपुर्बक कार्यान्वयनमा आउनुपर्नेमा जोड दिईन् ।

लैङ्गिक हिंसा तथा बालवालिका माथि हुने हिंसाको कानुनी ब्यवस्था तथा दण्ड सजायको अवस्था र वर्तमान अवस्थामा न्याय लिने र दिने प्रकृयको वारेमा अधिवक्ता सन्तोष विमालीले प्रशिक्षण दिए । 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update