चरिकोट । दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेमा भरुवा बन्दुक पड्कीएर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २० वर्षिय सन्जीव सार्की रहेका छन् । प्रहरीका अनुसार जंगलमा सिकार खेल्न गएका बेला भरुवा बन्दुक पड्कीदा उनको मृत्यु भएको हो ।
आफैँ बोकेको भरुवा बन्दुक काठको बट भाँचिएर अटोमेटिक फायर हुँदा उनको देब्रे छातीमा छर्राले लागेर उनी घाईते भएका थिए । घाईते सार्कीलाई तामाकोशी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि राति नै चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पताल ल्याईएको थियो ।
अस्पताल भर्ना लगत्तै उनलाई चिकित्सकहरुले मृत घोषणा गरेको दोलखा प्रहरीले जनाएको छ । उनीसहित ७ जना स्थानीय गएराति डाँडाबारी जंगलमा शिकार खेल्न गएका थिए ।
घट्नापछि उनीसँगै शिकार खेल्न गएका स्थानीय ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तामाकोशी गाउँपालिका–३ का १६ वर्षिय कृष्ण नेपाली, सोही स्थानका १८ वर्षिय रचेस मुग्राती, १५ वर्षिय सुमन तोलांगि, २२ वर्षिय माधव पोख्रेल, ४२ वर्षिय संजिव पोख्रेल, तामाकोशी गाउँपालिका–२ झुलेका २५ वर्षिय अविदित कार्कीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।