खरिढुंगा । काठमाडौंबाट काभ्रे र सिन्धुपाल्चोक हुँदै दोलखा प्रबेश गरे लगत्तै पर्यटकहरु रमाउने स्थान हो खरिढुंगा । दोलखाको बिभिन्न प्रसिद्ध पर्यटकीय गन्तव्यहरु भ्रमणका लागि आउने पर्यटकहरुलाई खरिढुंगाले स्वागत गरिरहेको हुन्छ । काठमाडौंबाट लगभग १०९ किलोमिटरको दुरीमा रहेको खरिढुंगा आफैपनि पर्यटकीय स्थल हो ।
यहाँ आईपुग्दा पर्यटकहरुको मन चंगा हुन्छ । प्राकृतिक सुन्दरताको दृष्यावलोकनले आनन्दको अनुभूति गराउँछ । सल्ला, चिमाल, खस्रु जस्ता लेकाली बुट्यानहरुसँग मितेरी लाउँदै गौरीशंकर लगायत रोल्वालिङ हिमश्रृंखला र सिन्धुपाल्चोकको जुगल हिमश्रृंखलाको अवलोकन गर्नुको बेग्लै मज्जा छ । खरिढुंगाका थुप्राहरु, जडिबुटीजन्य झारपात र घाँसे मैदानमा लुटपुटिन पाउँदा मनभित्रका सबै तनाबहरु दुर हुन्छन् ।
यहाँ रुग्ण ओरियन्ट म्याग्नेसाईट, शिवपोखरी, नजिकै फिल्मसिटी बन्ने भनिएको डाङडुङ्गे डाँडासँग प्रत्यक्ष साक्षात्कार गर्न सकिन्छ ।
क्षितिजसम्म पहाडै पहाडको प्राकृतिक संरचनासँगै यहाँबाट देखिने सुन्दर गाउँबस्तीहरुको दृष्यले मन नलोभिने कुरै भएन । शैलुङ र चुरेपर्बत श्रृंखला यहाँबाट राम्रोसँग नियाल्न सकिन्छ ।
भीमेश्वर नगरपालिका वडा नम्बर ९ मा पर्ने खरिढुंगा छिमेकी जिल्ला र काठमाडौंबाट आउने पर्यटकहरुका लागि सबैभन्दा नजिकको गन्तब्य हो । मनोरम दृष्यावलोकनसँगै पिकनिकमा रमाएपछि जिल्लाको अन्य पर्यटकीय गन्तव्यहरुको यात्रा तय हुन्छ ।
त्यसैले जिल्लाको प्रसिद्ध भीमेश्वर, कालिञ्चोक भगवती, च्छोरोल्पा हिमताल, तामाकोशी, जिरी लगायतका स्थानहरु भ्रमणमा आउने पर्यटकहरुलाई स्वागत गरिरहेको हुन्छ, खरिढुंगाले । यो मौसममा हिमपात हुने भएकोले हिउँसँग रमाउन खरिढुंगाले पर्यटकहरुलाई अर्को स्वागतको तयारी गरिरहेको छ ।