काठमाडौं । रुसी सेनामा भर्ना भएका दोलखा मेलुङका एक युवकको मृत्यु भएको पुष्टि भएको छ । जिल्लाको मेलुङ गाउँपालिका–६ सुनारपानी टोलका राजकुमार रोक्काको मृत्यु भएको हो । उनी २ महिनाअघि रोजगारीको सिलसिलामा रुस पुगेका थिए । रुसी सेनामा भर्ति भएर तालिम गरिरहेका बेला गत कात्तिक २९ गते उनको मृत्यु भएको खबर आएको परिवारले जनाएका छन् ।
केही वर्षअघिसम्म सशस्त्र प्रहरीमा कार्यरत उनले अवधि नपुग्दै राजीनामा दिएका थिए । त्यसयता राजधानीमा पसल गर्दै आएका उनी पनि २ महिनाअघि मात्रै रुसी सेनामा भर्ना हुन रुस पुगेका थिए । पारिवारिक स्रोतका अनुसार उनको तालिम गर्ने क्रममा बंकरमा मृत्यु भएको खबर आएको छ । मस्कोस्थित नेपाली दूतावासले रुसी सेनामा कार्यरत रहेको अवस्थामा रोकासहित तीन नेपालीको मत्यु भएको जानकारी रुसी सेनाले दिएको जनाएको छ ।
नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की र इलाम–५ का गंगाराज मोक्तानको पनि सोही क्रममा मृत्यु भएको छ । उनीहरुको गत १५ नोभेम्बर ९कात्तिक २९० गते मृत्यु भएको जानकारीसहित रुसी सेनाका अधिकारीबाट मृत्यु प्रमाणपत्रसमेत प्राप्त भइसकेको दूतावासले जनाएको छ ।
दूतावासले शवको यथाशीघ्र व्यवस्थापनका लागि मृतकका परिवारसँग सम्पर्क स्थापना गरिदिन आग्रह गर्दै कन्सुलर विभागलाई चार दिनअघि लेखेको पत्र आज सार्वजनिक भएको हो । रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले नेपाली मारिएको घटनाबारे रुसी सेनासँग विस्तृत सोधखोज भइरहेको जानकारी दिएका छन् ।
रुस र युक्रेनबीचको युद्धका क्रममा केही नेपाली पनि रहेको सूचना सार्वजनिक भइरहेका बेला तीन नेपाली मारिएको घटना सार्वजनिक भएको हो । रुस–युक्रेन युद्धमा रुसको पक्षबाट लड्न झन्डै २ सय नेपाली रहेको अनुमान गरिँदै आएको छ ।
उनीहरुको गत कात्तिक २९ गते तिहारको भाइटीकाका दिन एकैसाथ मृत्यु भए पनि परिवारले दुई सातापछि मात्रै खबर पाएका हुन् ।