Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको फलाक नाकाबाट ३३ किलो सुन तस्करी, अरबौं रुपैयाँ भुक्तानी
प्रहरीले सार्वजनिक गरेको सुन तस्करीमा संलग्न व्यक्तिहरु ।

चरिकोट । चीनबाट दोलखाको भूमि प्रयोग गर्दै ३३ किलो सुन तस्करी भएको तथ्य प्रहरीले सार्बजनिक गरेको छ । चीनसँग सिमाना जोडिएको लामावगर नाका हुँदै उक्त सुन नेपाल भित्रिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख, प्रहरी नायव उपरीक्षक दिपक खड्काले लामावगरको फलाक नाका हुँदै ६ पटक गरी ३३ किलो सुन नेपाल भित्रिएको पाईएको जानकारी दिए ।

सुन तस्करी प्रकरण अनुसन्धानका क्रममा सुन खरिद वापतको रकम क्रिप्टो करेन्सि, डलर र अन्य बहुमुल्य बस्तुमार्फत हुने गरेको तथ्य समेत प्रहरीले पत्ता लगाएको छ । क्रिप्टो करेन्सी (डिजिटल वालेट) मार्फत २ अर्व ९१ करोड ४८ लाख ३२ हजार ५ सय ९३ युनिट युएसडिटी चिनियाँ तस्करलाई भुक्तानी गरेको तथ्य फेला परेको डिएसपी खड्काले बताए । उक्त युनिट युएसडिटी ३ खर्व ८७ अर्व भन्दा बढी नेपाली रुपैयाँ हो । 

जिल्ला प्रहरी कार्यालय दोलखाले सदरमुकाम चरिकोटमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सुन तस्करीबारे भएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो । दोलखा प्रहरी र प्रहरीको केन्द्रीय अनुषन्धान व्यूरो (सीआईबी) को संयुक्त टोलीले करिव दुई महिना लगाएर सुन तस्करी प्रकरणको अनुसन्धान गरेको थियो ।

पक्राउ परेका सुन तस्करीमा संलग्न व्यक्तिहरुसँग गरिएको अनुसन्धानका क्रममा यस्तो तथ्य खुलेको हो । अभियुक्तहरुले सुन वापत यार्सा गुम्बा र कस्तुरीको बिना समेत पठाउने गरेको बताएका छन् । 

प्रहरीका अनुसार सुन तस्करहरुले फलाक नाकावाट डोरीमा सुन बाँधेर खोला पार गरेर नेपाल ल्याउने र  सोही नाकाबाट डलर र अन्य बहुमुल्य बस्तु सिलवन्दी गरी तिब्बततर्फ पठाउने गरेका थिए । एक वर्षको अवधिमा ७ लाख ६० हजार अमेरिकी डलर डोरीमा बाँधेर सिमापार गरिएको छ ।  

सुन तस्करीको मुख्य योजनाकार चीनियाँ नागरिक ग्याङ र आकर लामा मानिएको छ । उनीहरुसहित सहित १५ जनालाई पक्राउ गरी प्रहरीले बिस्तृत अनुषन्धान गरेको थियो । एक जना बालक भने हाजिर जमानीमा रिहा भएका थिए । प्रहरीका अनुसार सुन तस्करीमा संलग्न १२ जना अझै फरार रहेका छन् । उनीहरुको खोजी र अनुसन्धान कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ ।  

फलाक नाकाबाट नेपाल भित्रिएको ३३ किलो सुन मध्ये ११ किलो ५ सय ३२ ग्राम सुन प्रहरीले यसबीचमा बरामद गरिसकेको छ ।

पक्राउ परेकाहरु माथि भन्सार ऐन २०६४, संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र वैंक ऐन २०५८, बालबालिका सम्वन्धी ऐन २०७५ र मुलुकी अपराधसंहिता २०७४ को दफा ४३ को एकिकृत कसुरमा मुद्धा चलाउने प्रहरीको तयारी छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update