काठमाडौं । ईजरायलमा हमास समूहको आक्रमणपछि बेपत्ता कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ का विपिन जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा रहेको पुष्टि भएको छ । जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा थाइल्यान्डका नागरिकहरूसँगै सुरक्षित अवस्थामा रहेको जानकारी परराष्ट्र मन्त्रालयलाई आएको हो ।
कूटनीतिक तथा व्यक्तिगत च्यानलबाट प्राप्त सूचना अनुसार उनी सकुशल रहेको पुष्टि भएको हो । परराष्ट्रमन्त्री एनपी साउदका स्वकीय सचिव दीपक जोशीले विपिन सकुशल रूपमा गाजा क्षेत्रमा रहेको भरपर्दो सूचना प्राप्त भएको बताए ।
उनी त्यहाँ हमास समूहको नियन्त्रणमा रहेको आशंकामा हमास समूहसँग सम्बन्ध रहेका अरब मुलुकका समकक्षीहरूसँग परराष्ट्रमन्त्री साउदले यसअघि टेलिफोनमा संवादसमेत गरेका थिए । परराष्ट्र मन्त्रालयले हमासका मित्र मानिएका मुलुकको कूटनीतिक च्यानलमार्फत जोशीलाई पत्ता लगाउने र स्वदेश फर्काउन प्रयास गर्दै आएको थियो । जोशीको अवस्था अज्ञात हुँदा परिवार बेचैन बनेको छ ।
परराष्ट्रमन्त्री साउदले यसअघि कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज बिन सलेह अल खुलैफीसँग टेलिफोन गरेर जोशीको मुक्तिका लागि प्रयास गरिदिन अनुरोध गरेका थिए । मध्यपूर्वको इरान, इजिप्ट, साउदी अरेबिया, कतारसँग हमास समूहको राम्रो सम्बन्ध छ ।
सरकारले मध्यपूर्वका यीलगायतका मुलुकसँग नेपाली विद्यार्थीको खोजीका लागि प्रयास गरेको छ । सरकारले रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी) लगायतका संघसंस्थासँग पनि जोशीको खोजबिन गरिदिन अनुरोध गर्दै आएको थियो ।